०३ असार २०८३, बुधबार

प्रमुख समाचार : विश्वकप उपाधिका दाबेदार ४ टीम बाहिरिए, फेरि समातियो ६ किलो सुन

प्रमुख समाचार : विश्वकप उपाधिका दाबेदार ४ टीम बाहिरिए, फेरि समातियो ६ किलो सुन

काठमाडौं, १८ असार–विश्वकप उपाधिको दाबेदार मानिएको टोली एक पछि अर्को गर्दै बाहिरिन थालेका छन् । विश्वकपको उपाधिको सशक्त दाबेदार मानिएको स्पेन, पोर्चुगल, अर्जेन्टिना र जर्मनी बाहिरिएका छन् । 
जर्मनी समूह चरणबाटै घर फर्किएको हो भने अर्जेन्टिना, स्पेन र पोर्चुगल  नकआउट चरणबाट बाहिरिएका हुन् । 
विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेशका लागि आइतबार सम्पन्न रोमाञ्चक खेलमा स्पेनलाई हराउँदै आयोजक रसिया विजयी भयो ।  निर्धारित  ९० मिनेटमा १–१ को बराबरी र अतिरिक्त ३० मिनेटको समयमा कुनै गोल हुन नसकेपछि  पेनाल्टी सुटआउटमा पुगेको खेलमा  स्पेन रसियासँग ४–३ ले पराजित भएको हो ।  
हारसँगै  पूर्वविजेता समेत रहेको स्पेन नकआउट चरणबाटै घर फर्किन बाध्य भएको छ । 
यस्तै शनिबार भएको खेलमा पोर्चुगल उरुग्वेसँग २–१ ले पराजित भयो  भने अर्जेन्टिना फ्रान्ससँग ४–३ गोल अन्तरले पराजित भयो । 
 

नागढुंगाबाट ६ किलो सुन समातियो
राजधानीको नागढुंगाबाट ६ किलो सुनसहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा  सिन्धुपाल्चोकका तेन्जिङ तामाङ रहेका छन् । केरुङबाट काठमाडौं आउँदै गरेको बा ९५ प ८१६४ को मोटरसाइकल जाँच गर्ने क्रममा उनको साथबाट ६ किलो सुन बरामद भएको थियो । उनले कम्मरमा सुन बाँधेर ल्याएको प्रहरी स्रोतले जनाएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहन कुमार थापाले भने विशेष सूचनाको आधारमा  आइतबार बेलुका ७ बजे सुनसहित  एक जनालाई पक्राउ गरिएको  र उनको परिचय नखुलाइएको बताए  ।  प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

यसैबीच महानगरीय प्रहरी परिसर काठमाडौँले सुन ओसारपसार कार्यमा संलग्न पाँच जनालाई  सार्वजनिक गरेको छ । 

परिसरले आइतबार पत्रकार सम्मेलन गरी भारतीय नम्बर प्लेटको युके ०२४६८४ कारबाट शनिबार भारततर्फ सुन लैजाँदै गर्दा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो । 

सवारी चालक भारतीय नागरिक १९ वर्षीय दीपककुमार मौर्य, ४५ वर्षीय अशोक कुमार, २५ वर्षीया सन्जना साह, ५९ वर्षीय चन्द्रमोहन जोशी र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई प्रहरीले सार्वजनिक गरेको हो । 

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले कारको अगाडिको इन्जिनको माथि राखेको एयर फिल्टर बक्सभित्र तीनवटा बिस्कुट आकारको सुन लुकाएर भारत लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । शुरुमा सवारी चालक दीपककुमार र कञ्चनपुरका मनोजलाई पक्राउ गरिएको हो । उनीहरुको बयानको आधारमा अन्यलाई पक्राउ गरिएको हो । 

पोखरेलका अनुसार असार १४ गते अशोक, चन्द्रमोहन र सन्जना धनगढी विमानस्थलबाट काठमाडौँ आएका थिए । दीपक र मनोज भारतीय नम्बर प्लेटको कार चढेर काठमाडौँ आएर जमलस्थित ‘एलो प्यागोडा’ होटलमा बसेका थिए । उनीहरु सुन तस्करीको योजना बनाएर भारत लैजाँदै गर्दा पक्राउ परेका थिए । प्रहरीले उनीहरुको साथबाट कार र तीन किलोग्राम सुन बरामद गरेको छ । 

भन्सार ऐन, २०६४ को दफा ५७ (१) (ङ) अनुसार बिगोसहित एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ । उनीहरुलाई आवश्यक कानूनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइने परिसरले जनाएको छ ।
बाढी–पहिरोको जोखिम

आइतवार बिहानैदेखि शुरु भएको वर्षाका कारण तराईका जिल्लामा बाढीसँगै डुबानको जोखिम बढेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको बाढी पूर्वानुमान शाखाका अनुसार आइतवार बिहानदेखि शुरु भएको वर्षाले देशका १० वटा नदीमा पानीको बहाव बढेको छ । 

शाखाले कन्काई, कोशी, कमला, बाग्मती नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढ्न शुरु भइसकेको जनाएको छ । 

कमला नदीको जलाधार क्षेत्रमा भारी वर्षा भइरहेकाले सिरहा र धनुषा जिल्लाका केही क्षेत्रमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । 

यस्तै महाभारत र चुरे पर्वत श्रृंखला भएर बग्ने विरिङ, कन्काई, कमला, खाँडो, गागन, रातु, बागमती, पूर्वी राप्ती, रिउखोला, वाणगंगा, पश्चिम राप्ती, बबई लगायत नदीमा पानीको बहाब बढेर शतर्कता तहसम्म पुग्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ । 


देशका पहाडी जिल्लामा पहिरो र तराईका जिल्लामा बाढी तथा डुबानको जोखिम बढिरहेका बेला सरकारले पनि सम्भावित विपद्को व्यवस्थापनका लागि तयारी तीव्र पारिएको जनाएको छ । 

गृहमन्त्रालय मातहतको विपद् व्यवस्थापन महाशाखाका प्रमुख सह–सचिव केदार न्यौपानेले सम्भावित विपद् व्यवस्थापन र विपद्पछिको उद्दार र राहतका लागि सम्पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताए ।
प्रधानमन्त्री ओलीद्वारा नियमित भेटघाट शुरु
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदसँग नियमित भेटघाट शुरु गरेका छन् । 

प्रधानमन्त्री ओलीले पहिलोपटक प्रदेश नं १ बाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट गरे ।  दिउँसो ३ः३० देखि ५ बजेसम्म प्रदेश नं १ का सांसदहरुसँग छलफल भएकोे थियो 

भेटघाटमा प्रधानमन्त्री ओलीले गाउँगाउँमा सरकारको नीति तथा कार्यक्रमका बारेमा जनतालाई बुझाउने, सरकारका कामकारबाहीबारे जनतामा सन्देश प्रवाह गर्ने काम सांसदहरुले गर्नुपर्ने उल्लेख गर्दै बजेट विनियोजनमा केही कमीकमजोरी भए त्यसलाई आगामी वर्षको बजेटमा सच्याइने बताए । 
प्रत्येक शुक्रबार प्रधानमन्त्रीले प्रदेश गत तहमा सांसदसँग नियमित भेटघाट गर्ने कार्यतालिका रहेको छ । हरेक शुक्रबार हुने भनिएको अन्तरक्रियागत शुक्रबार संघीय संसद्को बैठक लम्बिएकाले हुन सकेको थिएन । 
अध्यक्ष दाहाल स्वदेश फिर्ता
पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किएका छन् । 

यही असार ३ गते पत्नी सीताको उपचारका लागि त्यसतर्फ प्रस्थान गएका अध्यक्ष दाहाल पत्नीको स्वास्थ्यमा सुधार आएपछि स्वदेश फर्किएक हुन् । ‘वाटर थेरापी’ र चिकित्सकको सुझावअनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको बताइएको छ । 

चिकित्सकको सुझावअनुसार सीताको थप उपचारका लागि उनी सिंगापुर गएका हुन् ।  चिकित्सकले सिंगापुरको एमटी एलिजाबेथ अस्पतालमा सीताको उपचार गराउन सुझाव दिएका थिए । 

अध्यक्ष दाहाललाई स्वागत गर्न नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेत्री पम्फा भुसाल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललगायत विमानस्थल पुगेका थिए । 

प्रतिवेदनपछि नियन्त्रकलाई कारबाही
माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकलाई कारबाही गरिएको छ । 

पाँच दिनअघि गठित समितिले आइतबार प्रतिवेदन बुझाएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको निर्णयबाट अम्बिकाप्रसाद रेग्मीलाई कारबाहीस्वरुप मन्त्रालयमा काजमा तानिएको छ भने अर्काे व्यवस्था नभएसम्मका लागि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई परीक्षा नियन्त्रक तोकिएको छ ।
ग्राण्डी अस्पतालका सम्पूर्ण सेवा सञ्चालनमा
सिम्रिक एयरको हेलिकप्टर अस्पतालको हेलिप्याडमा अवतरण गर्दा भएको दुर्घटना पछि पनि ग्राण्डी अस्पतालको सम्पूर्ण सेवा सञ्चालनमा आएको छ । 

ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेका अनुसार अस्पतालको चिकित्सक टोलीलाई लिन आएको सिम्रिक एयरको हेलिकप्टर शनिबार दिउँसो अस्पतालको हेलिप्याडमा अवतरण गरिसकेपछि अचानक अनौठो आवाज आएर घडिको सुइको विपरित दिशामा केहि फन्को घुमेर अस्पतालको दक्षिणतर्फको कुनामा खस्न पुगेको थियो । 

चितवनको भरतपुरमा बिरामी लिन जानका लागि चिकित्सक टोली लिन विमानस्थलमा इन्धन भरेर आएको हेलिकप्टर अस्पतालमा अवतरण गरिसकेपछि हेलिप्याडको छेउहुँदै तल खसेको थियो । हेलिकप्टरका पाइलट क्याप्टेन हरेराम थापा सुरक्षित अवस्थामा बाहिर निस्कन सफल भएको डा पाण्डेद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

‘हेलिकप्टर खसेपछि अस्पतालको छानामा थोरै क्षति पुगेको थियो, यस घटनाका कारण अस्पतालको नियमित सेवा सञ्चालनमा कुनै बाधा पुगेको छैन । सम्पूर्ण सेवा सञ्चालनमा छन्’ विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रियसभाः विधेयक पारित
राष्ट्रियसभाको बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । 

कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सो विधेयक पारितका लागि बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । 
डा केसीको रिहाइको माग
मानव अधिकार तथा शान्ति समाजले सत्याग्राही डा गोविन्द केसीलाई अविलम्ब रिहाइ गर्न माग गरेको छ । 

समाजका अध्यक्ष गंगाधर अधिकारीले जारी गरेको विज्ञप्तिमा १५औँ पटक अनशनका क्रममा जुम्ला पुग्दा शनिबार बाटोबाटै प्रहरीले पक्राउ गरेको घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

दोहोरो अंकले घट्यो शेयर बजार
निरन्तर ओरालो लाग्दै आएको शेयर बजारको नेप्से परिसूचक आइतबार पनि दोहोरो अंकले घट्यो । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १४.०१ प्रतिशतले ओरालो लागेर एक हजार १८४ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचकसमेत २.९७ बिन्दुले घटेर २४९.१२ बिन्दुमा ओर्लेको छ । 

आइतबार कुल १५८ कम्पनीको छ लाख १९ हजार ७४१ कित्ता शेयर रु १९ करोड ७२ लाख ६२ हजार ६११ मूल्यमा खरिद बिक्री भएका छन् । जसमा  सबै उपसमूहका शेयर घटेको हो । त्यसमा बैंकिङ १२.१४, होटल १८.६४, विकास बैंक २०.१४, जलविद्युत् १५.७, वित्त ६.१६, बीमा ८९.०३, उत्पादन ६.९९, अन्य ३.४६ र माइक्रोफाइनान्स २५.७४ बिन्दुले घटेको छ ।

एकै परिवारका ११ जनाको शव घरभित्रै भेटियो
भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रमा रहेको एक निजी आवासमा एघार जनाको शव भेटिएको छ । 

बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 
प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव झुण्डिएको अवस्थामा भेटिएको थियो भने एकजना ७५ वर्षीय महिलाको शव भने घरको भूइँतल्लामा थियो । 

झुण्डिएको अवस्थामा भेटिएका ती सबैको आँखामा पट्टी बाँधिएको छ । यहाँको एक स्थानीय इन्डिया टुडे टिभि च्यानलले सो जानकारी दिएको छ । मृत्यु भएकामा सात जना महिला र चार पुरुष रहेका छन् । 

यसरी मृत्यु हुने सबैजना नयाँ दिल्लीमै प्लाइउडको व्यापार गर्दै आएका ललित भन्ने व्यक्तिको परिवारका सदस्य हुन् । उनीहरु विगत दुई दशक भन्दा बढी समयदेखि त्यही घरमा बस्दै र व्यापार गर्दै आएका थिए । 

उनीहरुले सञ्चालन गरेको पसल बन्द भएको देखेपछि छिमेकीहरुले सोधखोज गरेका थिए । त्यसपछि मात्र आइतबार बिहान घटना सार्वजनिक भएको हो । 
तर पनि घटना केहीदिन पहिले नै भएको हुन सक्ने अनुमान गरिएको पनि सो समाचारमा जनाइएको छ । 
दिल्ली प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएको छ । प्रहरीले सामुहिक आत्महत्या या उनीहरुलाई झुण्याएर मारिएको हुनसक्ने दुवैको प्रारम्भिक अनुमान गरेको छ । 

उनीहरुको शव घरको सिलिङमा रहेको फलामको डण्डीमा झुण्डिएको अवस्थामा थियो । प्रहरीले अनुसन्धानका लागि छिमेकीहरुसँग सोधपुछ गर्ने र सिसिटीभीको फुटेजहरु अध्ययन गर्ने काम गरिरहेको प्रहरी अधिकारीहरुले बताएका छन् । 

प्रहरीले यसलाई एउटा ठूलो रहस्यमय घटनाका रुपमा लिएको छ । उसले यस घटनाको गम्भीर रुपमा अनुसन्धान थालिएको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्