
वीरगञ्ज, १८ असार – पर्सागढी नगरपालिका–४ मा आज अपराह्न थनती खोलाको बाढीले बगाउँदा १ किशोरीको मृत्यु भएको छ भने १ बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा सोही ठाउँकी १५ वर्षीया प्रतिमा राम तथा बेपत्ता हुनेमा १५ वर्षीय सुरेन्द्र महतो छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । सोही खोलाले बगाउँदा १५ वर्षीया संगीता चौरासिया बेहोश अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, १५ वर्षीय सुमन पासवानलाई बाढीले बगाउँदै गर्दा जीवितै उद्धार गरिएको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए । ३ दिनदेखिको अविरल वर्षाका कारण सो खोलामा बाढी आएको हो । चारै जना बरबाछतौली माविमा ९ कक्षाको परीक्षा दिएर घर फर्कँदै थिए ।