
काठमाडौं, १९ असार –विश्वकप फूटबल प्रतियोगिता रोमाञ्चक मोडतर्फ अघि बढ्दै गर्दा मंगलबार इंग्ल्याण्डले कोलम्बियाको सामना गर्दैछ । प्रिक्वार्टरफाइनल अन्तर्गतको सो खेल नेपाली समयअनुसार राति पौने १२ बजे शुरु हुनेछ । त्यसअघि बेलुका पौने ८ बजे स्वीडेन र स्विट्जरल्याण्ड आमनेसामने हुनेछन् ।
इंग्ल्याण्ड 'समूह जी'को उपविजेता र कोलम्बिया 'समूह एच'को विजेताका रूपमा नकआउट चरणमा पुगेका हुन् । समूहमा यी दुवै टोलीले समान दुई जीत र एक हार बेहोरेका थिए ।
इंग्ल्याण्डले समूह चरणमा ट्युनिसियाविरुद्ध २-१ र पनामाविरुद्ध ६-१ को जीत दर्ता गर्दा बेल्जियमसँग १-० को हार बेहोरेको थियो । कोलम्बिया भने सेनेगललाई १-० र पोल्याण्डलाई ३-० ले हराउँदा जापानसँग २-१ ले हारेको थियो ।
बलियो टोलीविरुद्ध 'फिजिकल गेम' !
फल खेल्ने मामलामा कोलम्बियन खेलाडी निकै अगाडि रहेको आरोप लाग्ने गरेको छ । अघिल्लो विश्वकपमा नेयमार कोलम्बियन खेलाडीकै फलको सिकार हुँदा उनीविनाको ब्राजिलले जर्मनीसँग लज्जास्पद् हार बेहोरेको थियो ।
यस सिजन पनि कोलम्बिया अनुशासनको मामलामा पछि छ । जापानविरुद्धको पहिलो खेलको तेस्रो मिनेटमै कार्लोस साञ्चेजले रातो कार्ड पाएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो । त्यसयता पनि कोलम्बियाका अन्य ३ खेलाडीले पहेँलो कार्ड पाएका छन् भने ४५ पटक फल एटेम्प्ट गरेका छन् ।
अर्कोतर्फ जारी विश्वकपमा इंग्ल्याण्डका २ खेलाडीले मात्र पहेँलो कार्ड पाएका छन् ।
लाइनअप हेर्दा इंग्लिस टोली निकै बलियो देखिन्छ । कप्तान ह्यारी केन, रहिम स्ट्रलिङ, देले अल्ली, जेसे लिंगार्ड, जोर्डन हेन्डर्सन, जोन स्टोन्स, केल वाल्करलगायत खेलाडी प्रिमियर लिगका स्टार हुन् ।
अर्कोतर्फ गत विश्वकपका सर्वाधिक गोलकर्ता ह्यामेस रोड्रिग्वेजको उपलब्धताका विषयमा संशय हुनु कोलम्बियाका लागि चिन्ताको विषय हो । इन्जुरीका कारण उनी इंग्ल्याण्डविरुद्ध खेल्ने/नखेल्ने निधो भइसकेको छैन ।
उनका अलावा रडामेल फल्काओ, जुआन क्वार्डाडो, क्विन्टेरो, मुरिएललगायत खेलाडी टीमका लागि महत्त्वपूर्ण छन् ।
इतिहास इंल्याण्डको पक्षमा
कोलम्बियाविरुद्ध इंग्ल्याण्डको रेकर्ड राम्रो छ । हालसम्म भएका ५ भिडन्तमा उसले हारको मुख देख्नु परेको छैन । तीन खेलमा विजयी नतिजा निस्किँदा २ खेल बराबरी भएको थियो ।
हेर्नलायक खेलाडी
ह्यारी केन, इंग्ल्याण्ड
इंग्लिस कप्तान केन रुस विश्वकपमा गोल्डेन बुटको रेसमा सबैभन्दा अघि छन् । हालसम्म उनले ५ पटक बललाई जाली चुमाएका छन् । जसमा पनामाविरुद्धको ह्याट्रिक पनि सामेल छ ।
तीव्र गति, बलमा कन्ट्रोल र सटीक प्रहार केनका बलिया पक्ष हुन् । टोटनह्यामबाट व्यवसायिक फूटबल खेल्ने केनले विगत दुई वर्षयता आफूलाई विश्वकै उत्कृष्ट स्ट्राइकरको कित्तामा उभ्याएका छन् ।
रडामेल फल्काओ, कोलम्बिया
ह्यामेस रोड्रिग्वेजको अनुपस्थितिमा फल्काओले इंग्लिस पोस्टमा आक्रमणको नेतृत्व गर्नेछन् । म्यान्चेस्टर युनाइटेडका तर्फबाट इंग्लिस फूटबलको पनि अनुभव पनि सम्हालेका फल्काओ हाल फ्रेन्च क्लब एस मोनाकोबाट व्यवसायिक फूटबल खेल्छन् । जारी विश्वकपमा उनले १ गोल गरेका छन् ।
उनका अलावा बार्सिलोनाका स्टार एरी मिनाको प्रदर्शन पनि यो विश्वकपमा सम्झनलायक छ । डिफेन्डरको भूमिकामा खेल्ने मिनाले २ गोल गरिसकेका छन् ।