काठमाडौं, २८ मंसिर– चर्चित लोकगायिका एवं रेडियो नेपालकी समाचार वाचिका कोमल वली राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेपछि चर्चामा छिन् । गीत–संगीतका कार्यक्रम भन्दापनि गायिका वली आजकाल राजनीतिक कार्यक्रमा भेटिन्छिन् । सोमबार त्यस्तै एक राजनीतिक कार्यक्रममा भेटिएकी वलीलाई लोकान्तरका कला संवाददाता अर्घेलो थापाले हिँडदा–हिँड्दै ४ प्रश्न सोधे :तस्वीर स्रोत : नेपालफिल्मडटनेट
पशुपति शर्माले तपाइँकै तीज– गीतमा ‘गयो दिदी जवानीको रस, राजनीति गर बरु नेता भएर बस’ भनेझैं भयो नि ?
मेरो त जे कुरा पनि संयोग मिल्छ । राजनीतिमा लाग्न भन्नु पशुपति शर्माको मलाई निर्देशन पनि हो । उसले राम्रो भन्यो, भनेजस्तै पनि भयो ।
उसो भए अब प्रेमका गीत नगाउने?
किन नगाउने ? प्रेमबिना संसार अडिन सक्छ र ? अब राजनीति गर्ने कि गीत गाउने ?
गीत, सङ्गीत र सञ्चारतिर पनि काम गरिरहेकी छु । भविष्यमा कुनै राजनीतिक पद लिएँ भने पक्कै पनि रेडियो नेपाल छोड्नुपर्छ । त्यो बेलासम्म निरन्तर रूपमा सञ्चार क्षेत्रमा लागिरहन्छु । राजनीतिमा किन लाग्नुभयो ? राप्रपाले कुनै पदको लोभ देखाएको हो?
मलाई पार्टीले केही दिन्छु भनेकै होइन । बरु म केही लिन्छु भनेर आफैं आएको हो । पार्टीमा प्रवेश गरेपछि म लोकसंगीतमा आफैं स्थापित भएजस्तै राजनीतिमा पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास छ । पार्टीले केही दिन्छु भनेकै छैन, मैले मागेकी पनि छैन ।