
काठमाडौं, २२ असार– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले राजनीतिक प्रतिशोध राखेर देशलाई मुठभेडमा लैजान खोजेको आरोप लगाएको छ । कांग्रेसले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय सच्चाउन माग गरेको छ ।
राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकमा अध्यक्षसँग समय लिएर बोल्दै नेपाली कांग्रेसका जीतेन्द्र देवले पूर्ववर्ती सरकारको निर्णय खारेज गर्ने सरकारको निर्णय प्रतिशोधपूर्ण भएको बताएका हुन् ।
ʻकांग्रेस र कम्युनिष्ट लड्दा नेपालमा प्रतिक्रान्ति भएको छ, तानशाह जन्मेको छʼसांसद देवले भने, ʻत्यो समय आउन सक्छ, दुवै जना जेलमा जानुपर्ने हुनसक्छ । दम्भ नपाल्नुस्, सबलाई परास्त गरेर एक्लै क्रान्ति गर्छु भनेर नहिड्नुस् ।ʼ
सांसद देवले कांग्रेससँग मुठभेडको राजनीतिमा नगाल्न सरकारलाई सुझाव दिए । कांग्रेस प्रजातन्त्रको पर्यावाची भएको दाबी गर्दै उनले प्रश्न गरे– कांग्रेससँग किन मुठभेड गर्न खोजेको ?
देउवा सरकारका मन्त्री समेत रहेका देवले तत्कालीन सरकारले विधिसम्मत निर्णय गरेको दावी समेत गरे । ʻम पनि त्यो सरकारको मन्त्री थिएँ, विधिको साशन अनुसार त्यो निर्णय भएको छ, एउटा पनि त्यस्तो निर्णय छैन, या आचार लगाएको समयमा भएको छʼउनले भने, ʻया निर्वाचन आयोगसंग सहमति लिएर भएको छ । विधि सम्मत भएको त्यो नियुक्तिलाई राजनीतिक प्रतिशोधनको भावनाबाट सरकारले यो निर्णय गर्न खोजेको छ ।ʼ
लोकतन्त्र स्थापनाका लागि सहकार्य गरेका दलसंगको भिडन्तले प्रतिक्रियावादी र पृथकतावादी शक्तिलाई फाइदा पुग्ने देवले बताए । ʻकांग्रेससंग लडेर लोकतन्त्रको रक्षा हुन्छ ? कांग्रेस र कम्युनिष्ट लड्दा अधिनाकयवादी, प्रतिक्रियावादी, पृथकतावादी शक्तिले फाइदा लिन्छʼउनले भने ।