२६ जेठ २०८३, मंगलबार

‘हत्यारा’ श्रीमान् श्रीमती : पारिवारिक कलह र इबीले जघन्य अपराध !

असार २२, २०७५
‘हत्यारा’ श्रीमान् श्रीमती : पारिवारिक कलह र इबीले जघन्य अपराध !

धनगढी, २२ असार – पछिल्लो समय पारिवारिक कलहले आपराधिक घटनाको रुप लिँदै गएको छ । ‘सँगै जिउने सँगै मर्ने’ कसम खाँदै विवाह बन्धनमा बाँधिएका जोडी बीचको आपसी कलहको घटना जघन्य आपराधिक घटनाको रुप लिँदै गएको हो ।

पछिल्लो १ महिनायता कैलाली र कञ्चनपुरमा भएका केही घटनाले समाज कुन मनोविज्ञानले अगाडि बढिरहेको छ भन्ने सर्वत्र चिन्ता र चासोको विषय बन्न पुगेको हो । कैलाली प्रहरीले आज ३ वटा घटना सार्वजनिक गर्यो । जसमध्ये २ वटा घटनाको मुख्य कारक पारिवारिक कलह नै देखियो भने एउटा घटना यौन र इबीको कारण भएको कैलालीको प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले बताए ।

‘यस्ता खाले घटना प्रहरीको नियन्त्रणभन्दा बाहिर छन् । यस्ता घटना प्रहरीले नियन्त्रण गर्न सक्दैन,’ एसपी घिमिरेले भने, ‘अबको समयमा नयाँ पिँढीमा म नै शक्तिशाली हुँ भन्ने इगो भाव पलाउँदै गएको छ । जसले सिंगो समाजलाई नै आपराधिक बाटोमा लगिरहेको छ ।’

प्रेमीको साथले श्रीमानलाई भीरबाट खसालियो

माइतीघर कैलालीको गोदावरी नगरपालिका–१० ओलानी भएकी कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि २२ वर्षीया लक्ष्मी बडैलाले २३ वर्षीय प्रेमी दीपक खत्रीसँग मिलेर २४ वर्षीय श्रीमान तेजबहादुर विष्टको हत्या गरिन् ।

विष्टसँग बैशाख १६ गते मागी विवाह गरेकी उनको विवाहपूर्व गोदावरी नगरपालिका–१२ खमौराका दिपक खत्रीसँग प्रेमसम्बन्ध थियो । नाटकीय ढंगले प्रेमीको सहयोगले असार ८ गते राति कैलालीको चुरे गाउँपालिका–५ स्थित भासु भीरबाट खसालेर श्रीमानको हत्या गरिन् । मृतक विष्टको शव असार १२ गते प्रहरीले फेला पारेको थियो ।

उनको प्रेमी खत्रीले विष्टको टाउकोमा प्रहार गरी घाइते बनाएको र पछि विष्ट र उनी सवार म२प ७४७७ नम्बरको मोटरसाइकलसहित भीरबाट खसालेका थिए । खत्री र बडैलालाई प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको छ ।

सामान्य वादविवादले श्रीमतीको हत्या

कैलालीको लम्कीचुहा नगरपालिका–९ का ३५ वर्षीय इन्द्रबहादुर चौधरी र उनकी श्रीमती गर्भीदेवी चौधरी असार २० गते छिमेकीको घरमा धान रोपाइ पछिको खानपानमा सरिक भई बेलुका घर फर्के । मादक पदार्थ सेवन गरेका दुबैबीच सामान्य वादविवाद हुँदा इन्द्रले रिसको झोकमा श्रीमतीको हत्या गरे । उनले कुटो र लाठीले प्रहार गरी हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

‘सुरुवाती बयानको क्रममा इन्द्रले श्रीमती लडेर मरेको बताएका थिए । तर पछि उनीहरूको बच्चासँग सोधपुछ गर्दा हत्या भएको खुलेको थियो,’ एसपी घिमिरेले भने । इन्द्रविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।

फरुवाले हिर्काउँदा श्रीमतीको मृत्यु

असार १२ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका केशव कार्कीले श्रीमती सरस्वती कार्कीको हत्या गरे । सशस्त्र प्रहरी हवल्दार रहेका उनी आफ्नी श्रीमतीलाई खेतमा रोपाइ गरिरहेको अवस्थामा फरुवाले हिर्काएर विभत्स ढंगले हत्या गरे । उनी कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि कारागार चलान गरिएका छन् ।

चौथोले बलात्कार गर्दा मृत्यु

गत असार १२ गतेदेखि ३ दिनसम्म बेपत्ता भएकी कैलाली गौरीगंगा नगरपालिका–११ कि २१ वर्षीया माया विकको शव असार १५ गते नजिककैको चपरथली सामुदायक वनमा फेला पर्यो । उनको सामूहिक बलात्कार गरी हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पासविक ढंगले हात पछाडि बाँधेर मुखमा कपडा र कागज कोचेर बलात्कार गरी हत्या गरिएको प्रहरीले जनायो । ‘बलात्कार गर्ने मध्येको चौथो व्यक्तिले सेक्स गर्ने क्रममा मायाले प्राण त्यागेको बलात्कारीले स्वीकार गरेका छन्,’ एसपी घिमिरेले भने ।

घटनामा संलग्न ५ जनाविरुद्ध प्रहरीले कर्तव्यज्यान, जवर्जस्तीकरणी र सामूहिक बलात्कार गरी ३ किमिमको मुद्दा चलाएको छ । जुन घटनाको मुख्य योजनाकार गौरीगंगा नगरपालिका–११ शिवपुरका ३० वर्षीय गणेश बडुवाल रहेका छन् । उनको योजनामा अन्यलाई परिचालन गर्ने शिवपुरकै २७ वर्षीय मनोज बोगटी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले गौरीगंगा नपा–११ ऐठाका २१ वर्षीय सुरज चौधरी, शिवपुरकै २० वर्षीय भुवन खाती र १९ वर्षीय तपेन्द्र बोगटीलाई पनि नियन्त्रणमा लिइ मुद्दा चलाएको छ । गौरीगंगा नगरपालिका अन्तर्गत वडा कार्यालयमा तथ्यांक सर्वेक्षणमा करारमा कार्यरत माया तथ्यांक संकलनका लागि भनेर घरबाट निस्केकी थिइन् ।

उनीसँगै बडुवाल र सुरज चौधरी पनि काम गर्थे । बडुवालले ८ गते नै मायालाई सेक्सको लागि प्रस्ताव राखेका थिए । तर, मायाले अस्वीकार गरेपछि बलात्कार गर्ने योजना बनाएको बयानमा खोलेको एसपी घिमिरेले बताए ।

पारिवारिक द्वन्द्व, आर्थिक समस्या र आवेगले यस्ता आपराधिक घटना दिनप्रति भइरहेका छन् । साथै, बढ्दो सामाजिक सञ्जालको प्रयोगले पनि सामाजिक, सांकृतिक र मनोवैज्ञानिक कारणले आपराधिक घटना घटिरहेको बताउँछन् कैलाली बहुमुखी क्याम्पसका मनोविज्ञान विषयका सहप्राध्यापक डाक्टर राजेन्द्र शाह । परिवर्तनको नाममा पश्चिमा संस्कृतिको अनुकरण र दण्डहीनताले यस्ता घटना बढेको उनको भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्