२५ जेठ २०८३, सोमबार

मैले पैसा बाँडेको होइन, मन्त्रालयमा आएको कार्यक्रम ट्रान्सफर गरिदिएको हुँ : रवीन्द्र अधिकारी

मैले पैसा बाँडेको होइन, मन्त्रालयमा आएको कार्यक्रम ट्रान्सफर गरिदिएको हुँ : रवीन्द्र अधिकारी
फाइल फोटो

काठमाडौं, २४ असार –संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले झोले संस्थालाई पैसा नबाँडेको स्पष्ट गरेका छन् । अन्यत्रबाट आएको कार्यक्रमलाई मन्त्रालयमार्फत् ट्रान्सफर गरिदिएको उनले स्पष्टोक्ति छ ।

विनियोजन विधेयकमाथि राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री अधिकारीले विभिन्न संस्था र प्रतिष्ठानमा गएको पैसा पूँजीगत खर्चका स्थानीय सरकारको खातामा जाने तर ती संस्थाको खातामा नबस्ने बताएका हुन् । विभिन्न संघ संस्था र प्रतिष्ठानका लागि दिइने अनुदान संस्कृति पर्यटन मन्त्रालयमार्फत जाने गरेको उनले जानकारी गराए ।

‘पहिला अपारदर्शी खर्च रोक्नुपर्छ भन्ने रवीन्द्र अधिकारी मन्त्री बनेपछि पैसा बाँढ्यो भन्ने कुरा आएको छ । तर मैले बाँडेको होइन, मेरो मन्त्रालय बाटो पर्छ, त्यही कार्यक्रमलाई ट्रान्सफर गरिदिएको मात्र हो,’ उनले भने । 
मन्त्री अधिकारीले, बीपी, मनमोहन, पुष्पलाल लगायतका संस्थाका लागि सूचीकृत भएर आएका कार्यक्रम मन्त्रालयमार्फत् गएको बताए । 

‘यो निरन्तरको कार्यक्रम हो, पैसा प्रतिष्ठानको खातामा जाँदैन, स्थानीय तहको खातामा जान्छ । पूँजीगत खर्च गर्न मात्र जान्छ । कार्यक्रम बनाएर आउनुपर्छ, स्थानीय सरकारसंग समन्वय गरेर आउनुपर्छ’ मन्त्री अधिकारीले संसदमा भने, ‘नराख्दा पनि परम्पराको बर्बाद भयो भन्ने, राख्दा पनि विरोध हुने भएपछि मैले आधा बजेट कटौती गरेको छु,’ उनले भने ।

सरकारी अनुदान पाएका कतिपय संस्था र प्रतिष्ठानले स्कूल र प्राविधिक शिक्षालय बनाएर राम्रो काम गरिरहेको उनले बताए । ‘हाम्रो मिसन सुखी नेपाली र समृद्ध नेपालको नारा पूरा गर्नु हो । यो देशमा आर्थिक विकास र समृद्धिका लागि काम गर्ने हो । सबै काम पारदर्शी हुन्छन्,’ उनले भने ।

यसअघि मन्त्री अधिकारीले विभिन्न झोले संस्थालाई पैसा बाँडेको भन्दै विरोध भएको थियो ।

अगस्ट १ बाट ८ गन्तव्यमा उडान

मन्त्री अधिकारीले सबै प्रदेशलाई केन्द्रसंग जोड्ने र काठमाडौंको हवाइ चाप कम गर्नका लागि प्रदेशको राजधानीबाट अन्य क्षेत्रमा उडान भर्ने नीति लिन लागेको बताए । ‘काठमाडौंमा सबै जहाजलाई केन्द्रीकृत गर्नेगरी प्रदेशको व्यवस्थापन गरिरहेका छौं,’ उनले भने ।

मन्त्री अधिकारीले दुर्गम क्षेत्रमा उडान भर्नका लागि नेपाल वायु सेवा निगमका लागि नयाँ ट्वीनटर विमान खरिद गर्ने तयारी गरेको बताए ।

निगमका लागि एउटा वाइड बडी आइसकेको र अर्को आउने क्रममा रहेको जानकारी दिँदै मन्त्री अधिकारीले अगष्ट १ बाट आठवटा विभिन्न गन्तव्यमा उडान भर्ने तयारी भइरहेको बताए ।

‘८० प्रतिशत सिट भरिने गरी जहाज उडाउँछौ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्