
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुखसहित ४ जनालाई विद्यार्थी संगठनहरूले थुनेको बिषयमा आइतबार साँझ भएको वार्तामा १९ बुँदे सहमती भएको छ । अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र नयाँ शक्ति विद्यार्थी युनियन तथा क्याम्पस प्रशासनका बीचमा सहमती भएको हो ।
अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्बर १ का सह–संयोजक भास्कर खनाल, जिल्ला अध्यक्ष गोकर्ण घिमिरे, नयाँ शक्ति विद्यार्थी युनियन प्रदेश नम्बर १ का संयोजक कमल पोख्रेल, अखिल (क्रान्तिकारी) जिल्ला संयोजक ताजिम अन्सारी लगायतका विद्यार्थी नेताहरू सहितको टोलीले क्याम्पस प्रशासनसँग वार्ता गरेको थियो । झण्डै २ घण्टा चलेको वार्तामा विद्यार्थीहरूले उठाउँदै आएको मागका बारेमा बुँदागत रुपमा छलफल भएको थियो ।
विद्यार्थीहरुले गत असार २१ गते लगाएको ताला क्याम्पस प्रशासनले बिना जानकारी फोडेपछि विवाद उत्कर्षमा पुगेको हो । विद्यार्थीहरुले एम.पी.ए.मा गरिएको शुल्क वृद्धी खारेज गरी विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, क्याम्पसमा हाजिरमात्र गरी तलव खाने प्राध्यापकको दरबन्दी खारेज गर्नुपर्ने, वी.वी.ए. संकायको विभागीय प्रमुख नियुक्ति दलिय भागवण्डाको आधारमा नभई स्वच्छ प्रतिस्पर्धाको आधारमा हुनपर्ने माग राख्दै आएका थिए ।
आइतबार साँझ भएको वार्तापछि विद्याथीहरुले उठाउँदै आएको मागसहित अन्य बिषयमा समेत सहमति भएको अनेरास्ववियुका क्याम्पस कमिटी अध्यक्ष नविन पहाडीले जानकारी दिए ।
क्याम्पससँग भएको सहमतिमा यसै शैक्षिक सत्रदेखि बिएस्सी सिएसआईटी संचालन गरिने, क्याम्पसले संचालन गरेका निजी कार्यक्रममा पनि आर्थिक बर्ष २०७५÷०७६ देखि लागुहुने गरी १५ प्रतिशत छात्रवृतीको व्यवस्था गर्ने, एमपीए र वीवीएमा परिक्षा शुल्क स्वरुप लिईँदै आएको अतिरिक्त शुल्क खारेज गरी लिएको शुल्क फिर्ता गर्ने जनाइएको छ ।
क्याम्पसका कर्मचारी र प्राध्यापकको लागि अनिवार्य विद्युतीय हाजिरीको व्यस्था मिलाउने, कात्तिक मसान्तभित्रमा क्याम्पसको सम्पूर्ण आम्दानी र खर्चको विवरण स्वेतपत्र जारी गरी सार्वजनिक गर्ने सहमति भएको नयाँशक्ति विद्यार्थी युनियन प्रदेश संयोजक कमल पोखरेलले बताए ।