३१ जेठ २०८३, आइतबार

नेपालका भाषामाथि ‘अंग्रेजी आतंक’ ! स्थानीय भाषा क्रमशः लोप हुँदै

असार २६, २०७५
नेपालका भाषामाथि ‘अंग्रेजी आतंक’ ! स्थानीय भाषा क्रमशः लोप हुँदै

बुटवल – व्यापारिक दृष्टिले अंग्रेजी भाषालाई महत्त्व दिँदा नेपालीमा प्रचलित भाषा गुम्ने खतरा देखिएको भन्दै भाषाविद्ले चिन्ता व्यक्त गरेका छन् ।

विश्वयापी प्रचलनमा रहेको भाषाका नाममा आयातित अंग्रेजी भाषाले नेपालको राष्ट्रभाषासहित अन्य मातृभाषा संकटमा पारेको गुनासो गरिएको छ । भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले अंग्रेजीले नेपालका सम्पूर्ण भाषालाई थिचिसकेको बताए ।

‘नेपाल र भारतबाहेक अन्य विश्वका कुनै पनि मुलुकमा अंग्रेजीलाई यति धेरै महत्त्व दिइएको पाइँदैन’ अवस्थीले भने, ‘अंग्रेजी भाषालाई आगामी १० वर्षसम्म पनि अहिलेजस्तै महत्व दिइए नेपालका सबै भाषा लोप हुने छन् ।’

‘तपाईका बालबच्चाले अब १–२ भनेर बुझ्न छाडिसके । आमाबाबा भन्न पनि छाडिसके । आफ्नोलाई गुमाएर अरूलाई पूर्ण रूपमा अंगाल्नु देशका लागि घातक हो,’ उनले भने । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १ सय २३ भाषा मातृभाषाको रूपमा बोलिन्छन् । तर, तीमध्ये धेरै भाषा लोप हुने अवस्थामा पुगेका छन् ।

भाषा आयोगका उपसचिव रामशरण सापकोटाले आयातित भाषाले गर्दा नेपालका सबै मातृभाषा पुस्तान्तरण गर्न समेत संकट देखिएको बताए । राईले आम अभिभावकले आफ्ना छोराछोरीलाई अंग्रेजी सिकाउने नाममा आफ्नो मातृभाषा पनि भुल्दै गएको बताए ।

‘अंग्रेजी भाषामा शिक्षा दिने नीतिले नेपाली समाजमा प्राथमिकता पाएको छ,’ उनले भने, ‘अंगे्रजी आतंकको प्रभाव कति छ भन्ने प्रष्टै देख्न सकिने तथ्य हो । केही हदसम्म यो फाइदाजनक होला । तर, धेरै मानेमा अंग्रेजी शिक्षा हाम्रोजस्तो बहुभाषिक, बहुजातीय राष्ट्रका लागि झन् घातक सिद्द हुनेछ ।’

भाषा आयोगका सचिव रामशरण सापकोटाले नेपालमा विदेशी भाषाको प्रभाव बढ्दै गएकाले नेपालमा बोलिने भाषा क्रमशः लोप हुँदै जान थालेको बताए । ‘भाषा मेटाउने होइन । नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हो,’ सचिव सापकोटाले भने । 

भाषा आयोगको आयोजना तथा ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको संयोजनमा भाषा आयोगले संवैधानिक दायित्व सम्बन्धी प्रादेशिक भाषा सङ्गोष्ठी गरेको छ । गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले लोप हुन लागेका प्रदेश अन्तर्गत बोलिने भाषाको संरक्षण गर्न सरकार तयार रहेको बताए ।

‘भाषा लोप हुन दिनु हुँदैन,’ उनले भने, ‘भाषा संस्कृतिको आधार हो । यसको गहिरो अध्ययन गरी संरक्षण गर्न सरकार तयार छ ।’

salt training

कमेन्ट गर्नुहोस्