
काठमाडौं- सरकारले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा दिउँसोको समयमा टिप्पर चलाउन प्रतिबन्ध लगाउने भएको छ ।
टिप्परका कारण सवारी दुर्घटना बढेको र सर्वसाधारणको ज्यान जान थालेपछि सरकारले रातीको समयमा मात्र टिप्पर चलाउन पाउने व्यबस्था गर्न लागेको हो ।
गृह मन्त्रालयले साउन १ गतेदेखि लागू हुनेगरी काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा रातीको समयमा मात्र टिप्पर चलाउन पाउने व्यबस्था गर्न जिल्ला प्रशासन कार्यालय र महानगरिय ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ ।
गृहमन्त्री रामबहादुर थापाका सहयोगीहरुका अनुसार साउन १ गतेदेखि राती ८ बजेदेखि बिहान ५ बजे सम्म मात्र टिप्परले उपत्यकामा प्रवेश पाउने छन् ।
मंगलवार मात्र टिप्परको ठक्कले काठमाडौंको जडीबुटी क्षेत्रमा मोटरसाइकलमा सवार एक किशोरको मृत्य भएको थियो । तीन साता पहिले सोही स्थानमा टिप्परको ठक्करबाट स्कुटरमा सवार एक महिलाको निधन भएको थियो ।
दुर्घटना बढेपछि सरोकारवालाले दिउसोको समयमा काठमाडौं उपत्यकामा टिप्पर सञ्चालनमा रोक लगाउन माग गरेका थिए ।