२५ असार २०८३, बिहीबार

बोइङ चढेर चीन जाँदै गैँडाको जोडी, प्रधानमन्त्रीले आजै हस्तान्तरण गर्ने

बोइङ चढेर चीन जाँदै गैँडाको जोडी, प्रधानमन्त्रीले आजै हस्तान्तरण गर्ने

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका एकजोडी गैँडा बिहीबार जनवादी गणतन्त्र चीनलाई हस्तान्तरण गर्दै हुनुहुन्छ ।

ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखिएका उक्त गैँडालाई बिहीबार बिहान यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालका लागि चिनिया राजदुत यू होङ्गलाई हस्तान्तरण गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीबाट गैँडाको प्रजाति उत्पत्तिको प्रमाणपत्र, साइटिस निर्यात प्रमाणपत्र, पशु क्वारेन्टाइन प्रमाणपत्र र स्वास्थ्य प्रमाणपत्रसहित गैँडा हस्तान्तरण गर्ने कार्यक्रम रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो । 

गैँडालाई ट्रकमा राखेर मंगलबार राति चितवनबाट ललितपुर ल्याइएको हो । अहिले पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा रहेको टोलीले गैँडाको रेखदेख गरिरहेको छ । 

सरकारले विसं २०७३ साल असार २६ गते चीनलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गरेको थियो ।  सोही निर्णयअनुसार पहिलो चरणमा ‘रुपसी र भद्र’ नामका एक जोडी गैँडा बिहीबार चीन पठाइँदैछ । अर्काे एक जोडीलाई सम्भव भएसम्म आगामी साउनमा पठाइने खड्काले जानकारी दिनुभयो । 

गैँडा लिन चीनबाट युनिटप एयरलाइन्सको कार्गाे विमान बिहीबार अपराह्न ४ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । 

गैँडा लिएर उक्त विमान साँझ ६ः२० बजे गुआङजाओ विमानस्थलका लागि उड्ने महानिर्देशक खड्काले जानकारी दिए । अलगअलग काठको खोरमा राखेर ल्याइएका गैँडाको जोडीलाई एउटै विमानमा पठाइनेछ । 

गैँडाको व्यवस्थापनका लागि स्याहार सुसारमा खटिएका राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका भेटरिनरी प्राविधिज्ञ किरण रिजाल तथा वन्यजन्तु प्राविधिज्ञद्वय दिपप्रसाद चौधरी र विनोद दराई पनि गैंडासँगै रहने छन् । 

चितवन निकुञ्जका पशु चिकित्सक डा कमल गैरे र एकजना वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामा भने बिहीबार गैँडासँगै जाने कार्यक्रम छ । हालसम्म नेपालले विभिन्न देशमा २६ गैँडा उपहार दिइसकेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्