
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्ने उद्देश्यका साथ प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ ।
सरकारको मूल लक्ष्य आर्थिक समृद्धि र विकास भएकाले त्यसमा कुनै पनि सम्झौता हुन नसक्ने र जनतालाई केन्द्रमा राखेर योजनाबद्ध विकास हुनुपर्ने प्रधानमन्त्रीको जोड थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शनिबार भएको छलफलमा मन्त्री तथा सचिवहरुको सहभागिता रहेको थियो । प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै सरकारको नीति र कार्यक्रम तथा आगामी आवको बजेट कार्यान्वयनमा ल्याउने गरी कार्ययोजना ल्याउन सचिव र मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।
ट्यांकरमा लक सिस्टम लागू
नेपाल आयल निगमको प्रदेश नं १ को कार्यालय विराटनगरले निगमको तेल ढुवानी गर्ने ट्यांकरमा शनिबारदेखि आधुनिक ‘लक सिस्टम’ लागू गरेको छ । निगमका कार्यकारी निर्देशक सुशील भट्टराई र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्तरुपमा लक सिस्टमको उद्घाटन गरे ।
लक सिस्टम लागू भएसँगै आयल निगमका ३४० ट्यांकरमा ताला लगाइएको छ । लक सिस्टम (ताला) भारतमा तेल भर्दा लाग्ने र नेपाल आयल निगमको डिपोमा मात्रै लक खुल्ने आयल निगमले जनाएको छ ।
सेन्सरसहितको उक्त लक सिस्टम लगाएपछि तेल चोरी हुने, गुणस्तरमा तलमाथि हुने र विवादलगायत समस्या समाधान हुने आयल निगमको भनाइ रहेको छ ।
स्मार्ट लाइसेन्स नै नक्कली !
नक्कली सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) नियन्त्रण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ नै नक्कली बन्ने गरेको भेटिएको छ । नक्कली ‘स्मार्ट लाइसेन्स’ प्रयोग गरी सवारीसाधन चलाउँदै आएका केही अभियुक्त पक्राउ परेपछि घटना पुष्टि भएको हो ।
नुवाकोटका मनोज गुरुङ र कालिकोटका चक्र नेपाली नक्कली स्मार्ट लाइसेन्ससहित पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो । महानगरीय ट्राफिक सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथूका अनुसार ट्राफिक नियम उल्लंघनको आरोपमा पक्राउ परेका चक्रको स्मार्ट लाइसेन्स विशेष परीक्षणपछि नक्कली भएको खुलेको हो ।
हाछेथूू लाइसेन्स स्मार्ट बने पनि जाँच गर्ने स्मार्ट प्रविधि ट्राफिक प्रहरीलाई नदिँदा कारोबार बढेको बताउँछन् । नयाँ पत्रिकामा खबर छ ।
राजपाले संसद्मा प्रभावकारी भूमिका खेल्ने
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय संसद्को दुवै सदनमा पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्ने भएको छ । राजपा संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले संसद्मा उठेका विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुने निर्णय गरेको हो ।
बैठकले संसद्मा उठेका विषयमा गुण र दोषका आधारमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।
यस्तै राजपा संसदीय दलकोे नेतामा पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । राजपा संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मतरूपमा चयन गरेको हो ।
अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रस्ताव तथा सबै नेताको समर्थनमा ठाकुर दलको नेतामा चयन भएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।
भदौमा हुने भनिएको कांग्रेस महासमिति बैठक असोजमा
नेपाली कांग्रेसले पार्टीको विधान संशोधनका लागि मस्यौदा समिति बनाउन नसक्दा आगामी भदौमा हुने महासमिति बैठक प्रभावित हुने भएको छ ।
विधान संशोधनका लागि मस्यौदा तयारी गर्न समय लाग्ने कारण देखाउँदै सभापति शेरबहादुर देउवा असोज दोस्रो साता महासमिति बैठक बोलाउनुपर्ने निचोडमा पुगेको उनीनिकट एक केन्द्रीय सदस्यले बताए ।
कांग्रेसले भदौ अन्तिम साता महासमिति बैठक गर्ने निर्णय लिएको थियो । पार्टी निकायलाई संघीय संरचनाअनुसार रूपान्तरण गर्न महासमिति बैठकको मुख्य एजेन्डा विधानको संशोधन र परिमार्जन छ । त्यसअघि नै मस्यौदा टुंग्याउन दुवै पक्षका नेताबीच महामन्त्रीको संयोजकत्वमा विधान मस्यौदा समिति बनाउने समझदारी बनेको थियो ।
तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सदस्यको नाम नदिएका कारण समिति घोषणा हुन सकेको छैन । सभापति शेरबहादुर देउवाले शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा विश्वासपात्रहरूसँग पौडेल पक्षले नाम नदिए के गर्ने भन्ने विषयमा सुझाव लिएका थिए ।
राष्ट्र बैंकको योजना
नेपाल राष्ट्र बैंकले लघुवित्त एवं सहकारी संस्थालाई कर्जा सूचना केन्द्रको सञ्जालमा जोड्ने भएको छ । यसअघि वाणिज्य तथा विकास बैंकले आफ्नो वित्तीय विवरण कर्जा सूचना केन्द्रमा सम्प्रेषण गर्दे आएका छन् ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०७५÷७६ को मौद्रिक नीतिमा सूचना नपठाउने संस्थाले साउन महिनादेखि दुई प्रतिशतको विन्दुमा कर्जा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । नेपालमा सहकारी संस्थाको संख्या पुगनपुग ३५ लाख रहेको छ ।
साउन १ गतेदेखि शेयर कारोबार अनलाइनमार्फत
तपाई शेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ । तपाई अब घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजरुपमा नै कारोबार गर्न सकिने भएको छ ।
सरकारले आगामी साउन १ गते अर्थात आगामी मंगलबारदेखि स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) लागू गर्ने भएको छ । शेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउने उद्देश्यका साथ सो प्रणाली लागू गर्न लागिएको हो ।
सो प्रणाली लागू भएपछि अनलाइन कारोबारका लागि कारोबारकर्ताले पहिलो पटक शेयर दलाल कहाँ पुगेर ‘युजरनेम’ र ‘पासवर्ड’ भने लिनुपर्नेछ । त्यसपछि तपाईले घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजैरुपमा शेयर खरिद वा बिक्री गर्न सक्नुहुन्छ ।
विश्वकपमा बेल्जियम बन्यो तेस्रो, उपाधिका लागि फ्रान्स र क्रोएसिया भिड्दै
विश्वकप फुटबलअन्तर्गत शनिबार भएको प्लेअफ खेलमा बेल्जियमले तेस्रो स्थान बनाउन सफल भएको छ । रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा भएको खेलमा बेल्जियमले इङ्ल्याण्डलाई २–०ले पराजित गरेको हो ।
यसैबीच उपाधिका लागि आज फ्रान्स र क्रोएसिया भिड्दै छन् । मस्कोस्थित लुझनिकी स्टेडियममा फाइनल प्रतिस्पर्धा हुनेछ । क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो भने फ्रान्सले तेस्रोचोटि फाइनलमा स्थान बनाएको हो ।
फ्रान्स एकचोटि विश्वविजेता भइसकेको छ । सन् १९९८ मा आफ्नै गृहभूमिमा भएको विश्वकपको फाइनलमा ब्राजिललाई हराएर ऊ विश्वविजेता बनेको थियो ।
क्रोएसिया पनि त्यही विश्वकपमा सेमिफाइनलमा पुगेको र फ्रान्सले नै उसलाई हराएको थियो ।
कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?
विश्वकप फुटबलको रुसमा आज हुने उपाधि भिडन्तलाई सबैजसो पत्रपत्रिकाले प्रमुखताका साथ छापेका छन् ।
विश्वकपको फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । उत्कृष्ट क्षमता प्रस्तुत गर्दै सबै खाले अप्ठ्यारा चिरेर उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच को अब्बल भन्ने होड आइतबार अन्त्य हुनेछ ।
यही होडमा खेलाडीले समेत आफूलाई विश्वकप विजेता टोलीको सदस्यका रूपमा उभ्याउने मौका पाउनेछन् । २१ औं विश्वकपको उपाधिको मुखमा रहेका फ्रान्स र क्रोएसिया दुवैको लक्ष्य अहिले उपाधि छ । फ्रान्स आफूलाई क्रोएसियाभन्दा बलियो रहेको दाबी गरिरहेको छ । यस्तै बलिया टोलीलाई धुलो चटाउँदै फाइनलमा स्थान बनाएको क्रोएसियाले पनि आफू उपाधिको वास्तविक हकदार ठानिरहेको छ ।
फ्रान्सले सन् १९९८ मा पहिलोपटक उपाधि जितेको थियो । त्यही इतिहास दोर्होयाउन फ्रान्सले अहिले निकै मेहनत गरिरहेको छ । २० वर्षअघि फ्रान्सले सेमिफाइनलमा क्रोएसियालाई हराएको थियो ।
फ्रान्सले अहिले त्यही क्रोएसियालाई फाइनलमा हराउनु पर्नेछ । संयोगवश २० वर्षअघि फ्रान्सले डिडियर डेसच्याम्पसको कप्तानीमा विश्वकप उचालेको थियो । अहिले उनै डिडियरले टोलीको प्रशिक्षण सम्हालेका छन् ।
डिडियर फ्रान्सलाई प्रशिक्षकका रूपमा पनि उपाधि दिलाउन चाहन्छन् । फ्रान्स टोली इतिहासकै बलियो भएको पनि डिडियरले दाबी गरे ।
यसैगरी पाँचपटक विश्वकपमा सहभागिता जनाएको क्रोएसिया रुस विश्वकपबाट आफूलाई नयाँ विजेता बनाउन चाहन्छ । सन् १९९१ मा युगोस्लाभियासँग छुट्टिएपछि क्रोएसियाले सन् १९९८ मा स्वतन्त्र राष्ट्रका रूपमा पहिलोपटक विश्वकप खेलेको थियो ।
पहिलो सहभागितामै क्रोएसियालाई फ्रान्सले सेमिफाइनलमै २–१ गोलले पराजित र्गयो । त्यसैले विश्वकपमा दोस्रोपटक फ्रान्ससँग प्रतिस्पर्धा गर्दा क्रोएसियाका लागि २० वर्षअघिको बदला लिने सुनौलो मौका छ ।
विश्वकपमा हालसम्म एकपटक मात्रै प्रतिस्पर्धा गरेका यी दुई टोलीबीच समग्रमा पाँचपटक भिडन्त भएको छ । तिनमा फ्रान्सले तीन खेलमा जित हात पारेको छ भने बाँकी दुई खेल बराबरीमा टुंगिएका छन् ।
‘हामीले यहाँसम्म आइपुग्न धेरै मेहनत गरेका छौं । विपक्षी फ्रान्सलाई कम आँकेका छैनौं । तर, सुन्दर फुटबल खेल्दै उपाधि जित्न हामी कुनै कसर बाँकी राख्नेछैनौं’, प्रशिक्षक ज्लाट्को डालिचले भने ।
फ्रान्स र क्रोएसिया बीचको फाइनल भिडन्तलाई युवाविरुद्ध अनुभवी टोलीको प्रतिस्पर्धा पनि मानिएको छ ।
विश्वकप फुटबलमा नयाँ इतिहास बन्ने वा पुरानै इतिहास दोहोरिने टुंगो पनि आइतबार लाग्नेछ । फ्रान्सले उपाधि जिते इतिहास दोर्होयाउनेछ भने क्रोएसिया विजयी बने नयाँ विजेता टोली जन्मिनेछ ।, अन्नपूर्ण पोस्टमा खबर छ ।