
काठमाडौं– रुसमा एक महिनादेखि जारी विश्वकप फुटबल प्रतियोगिता आइतबार फ्रान्स र क्रोएसियाको भिडन्तसँगै समाप्त हुँदैछ । मस्कोस्थित लुझनिकी स्टेडियममा यी दुई टोलीबीच फाइनल प्रतिस्पर्धा हुन लागेको हो ।
खेल नेपाली समयअनुसार बेलुका पाैने ९ बजे शुरु हुनेछ । क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो भने फ्रान्सले तेस्रोचोटि फाइनलमा स्थान बनाएको हो । फ्रान्स एकचोटि विश्वविजेता भइसकेको छ ।
सन् १९९८ मा आफ्नै गृहभूमिमा भएको विश्वकपको फाइनलमा ब्राजिललाई हराएर ऊ विश्वविजेता बनेको थियो । २१ औं विश्वकपको उपाधिको मुखमा रहेका फ्रान्स र क्रोएसिया दुवैको लक्ष्य अहिले उपाधि छ ।
फ्रान्स आफूलाई क्रोएसियाभन्दा बलियो रहेको दाबी गरिरहेको छ । यस्तै बलिया टोलीलाई धुलो चटाउँदै फाइनलमा स्थान बनाएको क्रोएसियाले पनि आफू उपाधिको वास्तविक हकदार ठानिरहेको छ । फ्रान्सले सन् १९९८ मा पहिलोपटक उपाधि जितेको थियो ।
त्यही इतिहास दोर्होयाउन फ्रान्सले अहिले निकै मेहनत गरिरहेको छ । २० वर्षअघि फ्रान्सले सेमिफाइनलमा क्रोएसियालाई हराएको थियो । फ्रान्सले अहिले त्यही क्रोएसियालाई फाइनलमा हराउनु पर्नेछ । संयोगवश २० वर्षअघि फ्रान्सले डिडियर डेसच्याम्पसको कप्तानीमा विश्वकप उचालेको थियो । अहिले उनै डिडियरले टोलीको प्रशिक्षण सम्हालेका छन् ।
यसैगरी पाँचपटक विश्वकपमा सहभागिता जनाएको क्रोएसिया रुस विश्वकपबाट आफूलाई नयाँ विजेता बनाउन चाहन्छ । सन् १९९१ मा युगोस्लाभियासँग छुट्टिएपछि क्रोएसियाले सन् १९९८ मा स्वतन्त्र राष्ट्रका रूपमा पहिलोपटक विश्वकप खेलेको थियो ।
विश्वकपमा दोस्रोपटक फ्रान्ससँग प्रतिस्पर्धा गर्दा क्रोएसियाका लागि २० वर्षअघिको बदला लिने सुनौलो मौका छ । विश्वकप फुटबलमा नयाँ इतिहास बन्ने वा पुरानै इतिहास दोहोरिने टुंगो पनि आइतबार लाग्नेछ ।
फ्रान्सले उपाधि जिते इतिहास दोर्होयाउनेछ भने क्रोएसिया विजयी बने नयाँ विजेता टोली जन्मिनेछ ।