काठमाडौं, ४ फागुन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही एक निजी एयरलाइन्सको व्यापार प्रवर्द्धनमा लागेको खुलासा भएको छ ।
अघिल्लो हप्ताको शुक्रवार उनी निजी क्षेत्रबाट एक वर्षअघि सञ्चालनमा आएको हिमालय एयरलाइन्सको प्रवर्द्धन गर्न श्रीमती र निजी सहायकसहित मलेसिया पुगेको भेटिएको छ ।
पर्यटन मन्त्रालय र त्यस मातहतको नागरिक उड्डयन प्राधिकरणले निजी एयरलाइन्सको नियमन, अनुगमन, निरीक्षण र कारवाही गर्नेसम्मको अधिकार राख्छ । पर्यटनमन्त्री ती दुवै निकायका अभिभावक र प्रमुख व्यक्ति हुन् । क्वालालम्पुरमा हिमालय एयरलाइन्सको व्यापार प्रवर्धन शाखा उद्घाटनपछि मन्त्री शाही (घेरामा)
कदमकथाचित् परिआएमा निजी एयरलाइन्सलको छानबिन, अनुगमन र कारवाही गर्न निर्देशन दिनसक्ने हैसियतमा रहेका मन्त्री नै हिमालय एयरलाइन्सको पैसामा विदेश गई सयर गरेर फर्केको खुलेको छ । यस प्रकरणले मन्त्री शाहीलाई विवादमा तानेको छ ।
अघिल्लो हप्ताको शुक्रवार मन्त्री शाही हिमालय एयरलाइन्सका पदाधिकारीसित मलेसिया पुगेका थिए । उनी सोमवार (फागुन २) मा मात्र नेपाल फर्किएका छन् । उनी हिमालय एयरलाइन्सको जहाज चढेर मलेसिया पुगेका थिए । उनका साथमा पत्नी वसन्ती कुमारी शाही पनि मलेसिया पुगेकी थिइन् । साथमा मन्त्रीका एकजना निजी सचिव पनि थिए ।
मन्त्री र सरकारी टोली मलेसिया जाने, आउने टिकटको पैसा, त्यहाँ रहँदा, बस्दा र खाना खाँदा लाग्ने खर्च सबै हिमालय एयरलाइन्सले बेहोरेको छ ।
मलेसिया जान, बस्न र आउनको लागि पर्यटन मन्त्रालयले मन्त्रीका लागि कुनै खर्च दिएको छैन । अर्थ मन्त्रालयमा पनि यस सम्बन्धमा प्रस्ताव गएको छैन । लोकान्तरले पर्यटन मन्त्रालय स्रोतसँग पुष्टि गर्दा मन्त्रीका लागि मलेसिया जान कुनै बजेट उपलब्ध नगराइएको जवाफ प्राप्त भएको छ ।
मन्त्री शाही हिमालय एयरलाइन्सको उद्घाटन गर्न भन्दै मलेसिया पुगेका थिए । त्यहाँ पुगेपछि उनले मलेसियन अधिकारीसँग हिमालय एयरलाइन्सको पक्षमा माहोल बनाउन जुटेका थिए ।
सोमवार नेपाल फर्किनुअघि शाहीले मलेसियाको राजधानी क्वालालम्पुरमा हिमालय एयरलाइन्सको सेल्स अफिस (व्यापार शाखा) उद्घाटन गरे ।
व्यापारको शाखाको उद्घाटनपछि उनले त्यहाँ फोटोशूट गराएका थिए । उद्घाटन कार्यक्रममा उनले हिमालय एयरलाइन्सको पक्षमा व्यापक प्रचार र प्रशंसा गरेका थिए ।
हिमालय एयरलाइन्सलाई जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । हिमालय एयरलाइन्सले गएको आइतवार केही पत्रकारलाई मलेसिया लगेको थियो । ती पत्रकारहरूमाझ मन्त्री शाहीले हिमालय एयरलाइन्सविरुद्ध कुनै पनि समाचार नलेख्न अनुनय विनय गरेका थिए ।
मन्त्री नै निजी एयरलाइन्सको प्रचार र व्यापार प्रवर्द्धनमा लागेको थाहा पाएपछि लोकान्तरले वुधवार बिहान ११ बजे मन्त्री शाहीलाई सम्पर्क गरेको थियो ।
लोकान्तर र मन्त्री शाहीबीचको संवादको अंश जस्ताको त्यस्तै :
लोकान्तर : मन्त्रीज्यू, नमस्कार । तपाईं पर्यटनमन्त्री । निजी एयरलाइन्सले केही गरी बदमासी गरे, उनीहरूमाथि अनुगमन, निरीक्षण र छानबिन गर्नुपर्ने भयो भने त्यो तपाईंको जिम्मेवारीभित्र पर्छ कि पर्दैन ?
मन्त्री शाही : पर्छ नि, किन नपर्नु ? त्यस्तो अवस्था आउन पनि सक्छ । निजी एयरलाइन्सको छानबिन, निरीक्षण र अनुगमन गर्ने मेरो मन्त्रालय र मातहतको क्यानले नै हो ।
लोकान्तर : त्यसो भए आफैंले छानबिन गर्नुपर्ने एयरलाइन्सको व्यापार प्रवर्द्धनमा तपाईँ सहभागि हुन मिल्छ ?
मन्त्री शाही : मैले त्यस्तो के गरें र ? मैले त त्यस्तो केही गरेको छैन ।
लोकान्तर : त्यसोभए अघिल्लो हप्ताको शुक्रवार तपार्इं हिमालय एयरलाइन्सको उद्घाटन, प्रवर्द्धन गर्न भन्दै श्रीमतीसहित उसकै खर्चमा मलेसिया किन गएको ?
मन्त्री शाही : हो, म मलेसिया गएको हो । हिमालय एयरलाइन्सकै खर्चमा गएको हो । तर म घुम्न गएको होइन । मोजमस्ती गर्न गएको होइन । हिमालय एयरलाइन्स पनि नेपालकै एयरलाइन्स हो । नेपाली भएर नेपाली एयरलाइन्सको प्रवर्द्धन गर्न किन नपाउने ?
लोकान्तर : भोलि त्यही (हिमालय) एयरलाइन्सकै गतिविधिमाथि तपाईंले वा तपाईंले सम्हालिरहनुभएको मन्त्रालय र त्यस मातहतको क्यानले छानबिन गर्नुपर्ने अवस्था आयो भने कन्फ्लिक्ट अफ् इन्ट्रेस्ट (स्वार्थको द्वन्द्व) हुँदैन ?
मन्त्री शाही : त्यसोभए म कहीँ पनि जानु भएन ? विदेश जानै भएन ? किन ममाथि खनिएको ? किन मलाई खेद्दै हुनुहुन्छ ? तपाईं लोकान्तरले हिमालय एयरलाइन्सबाट लाभ लिन नपाएर यस्तो सोध्दै हुनुहुन्छ कि क्या हो ? जे पायो त्यही लेख्ने ? किन विरोध गरेको उसको (हिमालय एयरलाइन्सको) ? तपाईंहरू जिम्मेवार बन्नुपर्दैन ? जे पायो त्यही लेख्ने ?
लोकान्तरसँग कुरा गर्दागर्दै मन्त्री शाही बेस्सरी रिसाए । उनले आफूलाई भेट्न आउन लोकान्तर प्रतिनिधिलाई आग्रह गरे । तपाईंलाई किन भेट्नुप–यो भन्ने प्रश्नमा उनले भेटपछि मात्र कुरा गर्ने भन्दै फोन काटिदिए ।
स्रोतका अनुसार मन्त्री शाहीले हिमालय एयरलाइन्सले लगेका केही पत्रकारसँग आइतवार साँझ क्वालालम्पुरको एक होटेलमा भेटेका थिए । ‘के छ पत्रकार भाइबहिनीहरूको हालखबर ?’ भन्दै उनी पत्रकारहरू भएको टेबुलछेउ पुगेका थिए । स्रोतका अनुसार मन्त्री शाही रोमाञ्चक मुडमा थिए र रमाइलो गरिरहेका थिए ।
मन्त्रीले अमर्यादित र गैरकानूनी काम गरे : सूर्यनाथ उपाध्याय
निजी एयरलाइन्स सञ्चालनमा आउँदा पर्यटनमन्त्रीले शुभकामनासम्म दिनु सामान्य मानिएपनि उसैको खर्चमा उसैको जहाज चढेर विदेश जाने र चार दिनसम्म बस्ने काम सिधै गैरकानूनी, अमर्यादित र आचरणविपरीत भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले लोकान्तरलाई बताए ।
‘यदि पर्यटनमन्त्रीजी निजी एयरलाइन्स उद्घाटन गर्न एयरलाइन्सकै खर्चमा मलेसिया जानुभएको हो र त्यहाँ केही दिन बसेर उद्घाटनहरूमा समेत सामेल हुनुभएको हो भने त्यो गम्भीर विषय हो । त्यसको छानबिन नै हुनुपर्छ । त्यसो गर्न मिल्दै मिल्दैन । यो पदीय आचरणविपरीत छ । आपत्तिजनक छ ।’
उपाध्यायले आफ्नै देशमा निजी क्षेत्रबाट एयरलाइन्स सञ्चालनमा आउँदा विभागीय मन्त्रीको हैसियतमा पर्यटनमन्त्रीले सामान्य शुभकामनासम्म दिनसक्ने बताए ।
‘निजी एयरलाइन्स सञ्चालनमा आएकोमा शुभकामना दिने वा देशभित्रै उद्घाटन कार्यक्रम भएको रहेछ भने त्यस कार्यक्रममा केही क्षणका लागि, अझ भनौं औपचारिकताका लागि सामान्य सहभागी भइदिनेसम्म गर्न सकिन्छ । परिवारसहित विदेश गएर, केही दिन बसेर, एयरलाइन्सकै प्रचारप्रसार गरेर आउनुभएको हो भने त्यो गम्भीर विषय हो । यसमा सम्बन्धित निकायहरूले छानबिन हुनुपर्छ ।’
पूर्व प्रमुख आयुक्त उपाध्यायले विभागीय मन्त्रीको हैसियतमा पर्यटनमन्त्रीले निजी एयरलाइन्समाथि अनुगमन, निरीक्षण र गल्ती गरेको भेटिएमा कारवाही समेत गर्न सक्ने बताए । ‘यस्तो गहन जिम्मेवारी बोकेको मन्त्री निजी एयरलाइन्सको कार्यक्रममा विदेश जानै मिल्दैन । यो गलत मात्र होइन, गम्भीर भूल हो र पदीय दुरुपयोग पनि हो ।’
लोकान्तरमाथि गम्भीर लाञ्छना
पर्यटनमन्त्री शाहीले लोकान्तरले हिमालय एयरलाइन्सबाट लाभ नपाएको निहुँमा उसविरुद्ध समाचार लेखेको गम्भीर आरोप लगाएका छन् । केही दिनपहिले लोकान्तरले हिमालय एयरलाइन्सबाट निकालिएका पाइलटहरूले वाग्मती श्रम कार्यालयमा दिएको उजुरी र क्षतिपूर्ति दाबीको निवेदन पत्रका आधारमा समाचार लेखेको थियो । हिमालय एयरलाइन्सबाट निकालिएका पाइलटद्वय नागराज र रामेश कृष्णन्कले श्रम कार्यालयमा दर्ता गरेको निवेदनमा उक्त एयरलाइन्सले यात्रु सुरक्षामा ध्यान नदिएको लगायतका विस्तृत विवरण पेश गरेका छन् ।
त्यस्तै, हिमालय एयरलाइन्सले बर्खास्त गरेका अर्का पाइलट गाब्रिएल आसेन्जोले पनि उक्त एयरलाइन्सले सुरक्षा मापदण्डमा ध्यान नदिएको र यात्रु सुरक्षाका लागि आवाज उठाउँदा आफूलाई हटाइएको दाबीसहितको निवेदन क्यानमा दिएका छन् । तीनैजनाको निवेदनमाथि कुनै सुनुवाइ भएको छैन ।
हिमालय एयरलाइन्स ठीक छ, लोकान्तर गलत : मन्त्री शाही
त्यहाँबाट निकालिएका पाइलटले पेश गरेको निवेदनका बारेमा सोधिएको प्रश्नको जवाफमा मन्त्री शाहीले उक्त एयरलाइन्सले सही काम गरेको प्रतिक्रिया दिए ।
‘हिमालय एयरलान्स एकदम सही छ । त्यसैले म उसैको जहाज चढेर मलेसिया गएको हुँ । उसैको खर्चमा केही दिन बसेर फर्केको पनि हुँ,’ शाहीले थपे, ‘तपाईं (लोकान्तर) चाहिँ गलत हुनुहुन्छ । तपाईंहरूले एकपक्षीय समाचार लेखिरहनुभएको छ ।’
मन्त्रीको टोलीमा सहभागीहरू
मन्त्री शाही र उनकी श्रीमतीसँगै सांसद भरतबहादुर खड्का, मन्त्रीका निजी सचिव मनोज पोखरेल, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई सुरक्षा हेर्ने जिम्मेवार पदाधिकारी पनि हिमालय एयरलाइन्सको खर्चमा मलेसिया पुगेका थिए ।