
लोकान्तर संवाददाता
काठमाडौं, ४ माघ –व्यवसायीले खाना पकाउने ग्यास विक्रीमा मुनाफा वृद्वि गर्न सरकारलाई दवाब दिएका छन् ।
बुधवार एक कार्यक्रम गरि नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल ग्यास विक्रेता महासंघ लगायतले ग्यासको विक्रीको मुनाफा दोब्बर बढाउन दवाब दिएका हुन् ।
नेपाल एलपी ग्यास उद्योगका अध्यक्ष शिव घिमिरेले उद्योगी व्यवसायीको नाफा कम हुँदा व्यवसाय गर्ने कठिन भएको बताए ।
‘ग्यास विक्रीमा कमिसन अत्यन्तै कम हुँदा व्यवसाय नै बन्द गर्ने स्थिति आएको छ,’ ग्यास विक्रेता महासंघका महासचिव चन्द्र थापाले भने ।
हाल प्रतिसिलिण्डर ग्यास विक्रीमा ३२ रुपैयाँ कमिसन छ । विगत लामो समयदेखि सरकारले कमिसन वृद्वि गरेको छैन ।
नेपाल चेम्बर अफ कमर्सका सन्तोष पाण्डेले कारोबार उच्च भए पनि मुनाफा अत्यन्तै कम हुँदा व्यवसायी मर्कामा परेको बताए । ‘अब त मुलुकमा उद्योगी र व्यवसायी बाँच्ने आधारै रहेन,’ उनले भने ।
नेपाल आयल निगमका निर्देशक दिपक बरालले ग्यासको मूल्य बढाउन नसकिने बताए ।
उपभोक्तावादीहरूले भने कुनै पनि हालतमा ग्यासको मूल्य वृद्वि हुन नहुने बताएका छन् । नेपाल आयल निगमले केही दिनअघिमात्र ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको थियो ।