
जनक कार्की
मालिकलाई देख्दा पुच्छर हल्लाउनै छोड्यो
झुत्रोझाम्रे देख्दा भुक्नै छोड्यो
आकाश तर्फ फर्किएर घुम्रीएको पुच्छर
टाङमुनी लत्रिन थाल्यो।
कुकुर बौलाएको छ
चुसेर फालेको हड्डीमा पल्किनै छाड्यो
चोरको घरमा चोरको निगरानी गर्नै छाड्यो।
कुकुर जब बफादार थियो
उसको नाममा
अनेकौं तुच्छ गाली गरियो
बिना गल्ती अनेकौं लाच्छना लगाइयो
जुठो भातमा पालियो।
आज कुकुर बौलाएको छ
रेबिजका किटाणुहरू
फैलाउन चाहन्छ
मालिकको रगत-रगतमा।
आशा छ
नगरपालिकाको जल्लाद
आएर बिष हाल्नुपूर्व
बौलाएको कुकुरले
मालिकको रगत चाखोस।