
काठमाडौं – ग्रीसको राजधानी एथेन्स नजिकको एट्टिका क्षेत्रको जंगलमा आगलागीमा कम्तीमा ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । विगत एक दशकमा ग्रीसको यो सबभन्दा खराब आगलागी हो ।
रेड क्रसका अनुसार, २६ वटा लाश माटी गाउँमा भेटिएका थिए । त्यो गाउँ संकटको केन्द्रमा छ ।
यसअघि २४ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।
उद्धारका लागि ठूलो प्रयास भइरहेको छ । उद्धारकर्मीहरू डुंगा र हेलिकप्टर प्रयोग गरेर एक समुद्री किनार खाली गराइरहेका छन् ।
सयौं अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरिररहेका छन् र विदेशी सहायता खोजिरहेका छन् ।
‘आगो नियन्त्रण गर्नका लागि हामी सक्नेजपत सबै प्रयास गर्दैछौं,’ प्रधानमन्त्री एलेक्सिस सिप्रासले पत्रकारहरूलाई बताए ।
अधिकांश पीडितहरू एथेन्सबाट ४० किलोमिटर उत्तरपूर्वमा रहेको माटी गाउँमा अड्किएका छन् । उनीहरू कि घरमा कि कारमा मरेका हुन् ।
माटी गाउँ रफिना क्षेत्रमा पर्छ र यो आन्तरिक पर्यटकहरूका लागि लोकप्रिय स्थल हो ।
कम्तीमा १०४ मानिस घाइते भएका छन् । तीमध्ये ११ जना गम्भीर घाइते छन् । सोह्रजना बच्चा पनि त्यसमा परेका छन् ।
बीबीसीबाट