
सुर्खेत – अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले पछिल्लो समय भ्रष्टाचार गर्ने तरिका बदलिएको जनाएको छ ।
सोमबार आर्थिक वर्ष २०७४/०७५ मा भएका गतिविधिलाई सार्वजनिक गर्दै कार्यालय प्रमुख रविलाल पन्थले भ्रष्टाचार गर्ने तरिका बदलिएको बताएका हुन् । ‘विगतमा आमनेसामने नै पैसाको लेनदेन हुने गरेको थियो,’ उनले भने, ‘तर, अहिले भने त्यो तरिका नै बदलिएको छ ।’ उनले अहिले तेस्रो व्यक्तिको प्रयोग गर्ने क्रम बढेको बताए ।
‘अहिले नगद कारोबार गर्दा वा चेक लिँदा तेस्रो वा चौथो व्यक्तिलाई प्रयोग गर्ने गरिएको छ । यसले केही चुनौति थपेको छ,’ उनले भने । भ्रष्टाचारलाई निर्मुल पार्न सबैको सहकार्य आवश्यक रहेको उनले बताए ।
कार्यालयले दिएको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयमा आर्थिक वर्ष २०७४/०७५ मा परेका भ्रष्टाचार सम्बन्धी उजुरीमध्ये ५ सय ७१ उजुरी फछ्र्यौट भएका छन् ।
तीमध्ये ३ सय ३९ मुद्दा तामेली गरिएको छ भने १ सय १ उजुरी एकीकरणका आधारमा फछ्र्यौट गरिएका छन् । विस्तृत अनुसन्धानबाट ३९ उजुरी फछ्र्यौट गरिएका छन् भने ३१ उजुरी लेखी पठाइएको र ७ वटा उजुरी अन्य निकायमा पठाइएको कार्यालयले जनाएको छ ।
कार्यालयबाट सुर्खेतका १ सय ४०, दैलेखका १ सय २३, जाजरकोटका ५७, कालिकोटका ६५, हुम्लाका ४२, सल्यानका ४१, रुकुम पश्चिमका ३४, जुम्लाका २७, मुगुका २१, डोल्पाका १८ र रुकुम पूर्वका ३ वटा उजुरी फछ्र्यौट भएका छन् ।
आर्थिक वर्षभरि आएका उजुरीमध्ये १ सय ८० उजुरी फछ्र्यौट हुन वाँकी रहेको कार्यालयले जनाएको छ ।