काठमाडौं – पाकिस्तानमा बुधवार सम्पन्न आमनिर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफले बहुमत ल्याउन लाग्दा छिमेकी मुलुक भारतमा चिन्ताको बादल छाएको छ ।
पाकिस्तानको उदारवादी खेमामा तालिबान खान भनी चिनिने इमरानले चुनावी अभियानमा भारतविरुद्ध बयानहरू दिएका थिए ।
कारागारमा थुनिएका नवाज शरीफको दललाई पछि पार्दै इमरानको दल सबभन्दा ठूलो बनेको छ । भारतप्रति अति नै नरम दृष्टिकोण राखेको भन्दै चुनावी अभियानका क्रममा इमरानले नवाजविरुद्ध आरोप लगाएका थिए ।
उनले भनेका थिए, ‘भारत र मोदीलाई नवाज प्यारा छन् अनि उनी हाम्रो सेनालाई घृणा गर्छन् । अब इमरान सत्तामा आएमा पाकिस्तानका लागि काम गर्नेछ भन्ने चिन्ता उनलाई छ ।’
इमरानले चुनावी अभियानभरि कश्मीरको मुद्दा निकै चर्को रूपमा उठाएका थिए र त्यहाँको हिंसामा भारत जिम्मेवार रहेको बताएका थिए ।
भारतले गरेको सर्जिकल स्ट्राइकपछि इमरानले कडा रवैया अपनाउँदै भनेका थिए, ‘मोदीलाई कसरी जवाफ दिनुपर्छ म नवाज शरीफलाई सिकाउँछु ।’ भारतविरुद्ध पाकिस्तानी जनतालाई इमरानले देखाएको अडानले उनको छिमेक नीति
प्रस्ट्याउँछ ।
पाकिस्तानको उदारवादी खेमाले त उनलाई सीधै तालिबान खान भन्छ । पाकिस्तानको उग्रवादी शक्तिहरूलाई इमरानले सहयोग गरेका कारण उनको यो नाम रहन गएको हो । सन् २०१३ मा अमेरिकी ड्रोन आक्रमणमा तहरीक–ए–तालिबान
पाकिस्तानका कमान्डर वली–उर–रहमान मारिएको थियो र इमरानले उसलाई शान्ति समर्थक संज्ञा दिएका थिए ।
इमरानको तालिबान प्रेम पछिल्ला वर्षहरूमा लगातार सार्वजनिक भइरहेको छ । उत्तरपश्चिम प्रान्त खैबर पख्तुनख्वामा उनको प्रान्तीय गठबन्धन सरकारले सन् २०१७ मा हक्कानी मदरसालाई ३० लाख डलर सहायता दिएका थिए ।
हक्कानी मदरसालाई तालिबानको मेरुदण्ड मानिन्छ । पूर्व तालिबान प्रमुख मुल्ला उमर समेत अन्य नेताले त्यहीँ शिक्षा पाएका हुन् ।
इमरानलाई पाकिस्तानी सेनाको प्रिय नेता मानिएको छ । पाकिस्तानी राजनीतिमा गहिरो पकड बनाएको सेना कहिले पनि भारतसँग राम्रो सम्बन्ध बनाउन चाहँदैन ।
इमरानको हातमा सत्ता आएमा पाकिस्तानमा उग्रवादीहरूलाई प्रोत्साहन हुने आशंका छ । ती उग्रवादीहरू पाकिस्तानमा बसेर भारतविरोधी गतिविधि गरिरहेका हुन्छन् । त्यसैले पनि भारत सशंकित भइरहेको हो ।
एजेन्सी