
काठमाडौं – बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँग इन्गेजमेन्ट गरेकी छन् । दुवैजना लामो समयदेखि डेटिङ गरिरहेका थिए ।
प्रियंकाले साउन २ गते आफ्नो ३६औं जन्मदिनमा लन्डनमा यो इन्गेजमेन्ट गरेकी हुन् तर यसको जानकारी सार्वजनिक गरिएन ।
अहिले प्रियंकाकी फुपु कामिनी हान्डाले यसको पुष्टि गरेकी छन् ।
कामिनीले भनिन्, ‘इन्गेजमेन्टबाट हामी सबै खुशी छौं । साउन २ गते सबैजना प्रियंकाको घरमा उपस्थित थिए । त्यसअघि सबैजना निकको घर अमेरिका गएका थिए । छिट्टै बिहेको तिथि पनि निश्चित गरिनेछ ।’
यसअघि फिल्म पत्रिका फिल्मफेयरले प्रियंका निकसँग एक महिनाभित्र इन्गेजमेन्ट गरिसक्ने दाबी गरेको थियो ।
बिहेका कारण प्रियंकाले सलमान खानको फिल्म भारत नखेल्ने भएकी छन् ।
निर्देशक अली अब्बास जाफरले ट्वीट गर्दै भने, ‘प्रियंकाले भारतमा काम नगर्ने निर्णय गरेकी छन् । निजी कारणले गर्दा उनले यो निर्णय लिएकी हुन् । टीम भारतका तर्फबाट प्रियंकालाई धेरै प्रेम ।’
एजेन्सी