१० साउन २०८३, आइतबार

प्रदेश राजधानीमा अपराध बढ्दै, बढे हत्याका घटना

साउन ११, २०७५
प्रदेश राजधानीमा अपराध बढ्दै, बढे हत्याका घटना

जनकपुरधाम – २ नम्बर प्रदेशको अस्थायी राजधानी रहेको जनकपुरधाममा अपराधको ग्राफ वर्षैपिच्छे बढ्दै गएको छ ।

गत आर्थिक वर्ष २०७४/०७५ मा धनुषा जिल्लामा ९ सय ५३ अपराधका मुद्दा दर्ता भएका छन् भने अघिल्लो आर्थिक वर्ष २०७३/०७४ मा ८ सय ३६ थियो । आर्थिक वर्ष २०७२/०७३ मा अपराधका मुद्दा ५ सय ६८ मात्र दर्ता भएका थिए । हरेक आर्थिक वर्षका अपराधका मुद्दा बढ्दै गएका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा धनुषामा दर्ता भएका ९ सय ५३ मुद्दामध्ये सबैभन्दा बढी केही सार्वजनिक अपराधको मुद्दा ३ सय ८७ र त्यसपछि आत्महत्याको संख्या ९५ रहेको छ । गम्भीर प्रकृतिका अपराधमा पनि कमी आउन सकेको छैन । धनुषामा आर्थिक वर्ष २०७४/०७५ मा १९ जनाको हत्या भएको छ भने ३५ जनाको हत्या प्रयास भएको छ ।

सोही आवमा बलात्कारका घटना १७ र १२ वटा बलात्कार प्रयासका मुद्दासँगै एउटा अपहरण तथा बलात्कार प्रयासको मुद्दा समेत दर्ता भएका छन् । मानव बेचबिखनका घटना ३, मानव बेचबिखन तथा बलात्कारका १ थान, अपहरण तथा शरीर बन्धकको ४ थान मुद्दा दर्ता भएका छन् । चोरीका ४८, हातहतियार तथा खरखजानाका ५, ठगीका ७, लागूऔषधका ७०, बम बिष्फोटका १ मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएका छन् । बालविवाहको १, गर्भपतनको ३, कालोबजारीको ३, बोक्सी आरोपको २ मुद्दा दर्ता भएका छन् । सवारीसाधन दुर्घटनामा मृत्यु ६३ र अंगभंग भएका ६ वटा मुद्दा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७३/०७४ मा १८ जनाको हत्या भएको थियो भने १४ जनाको हत्या प्रयास भएको थियो । १८ वटा बलात्कार र १० वटा बलात्कार प्रयासका मुद्दा दर्ता भएका थियो । अपहरण तथा शरीर बन्धकको १ वटा मुद्दा दर्ता, चोरीका ४५, हातहतियार तथा खरखजानाका ८, ठगीका १८, लागूऔषधका ३९ मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएका थिए । सवारीसाधन दुर्घटनाले मृत्युमा ६६ र आत्महत्या १ सय ७ वटा मुद्दा दर्ता भएको थियो ।

आर्थिक वर्ष २०७२/०७३ मा ५ सय ६८ वटा मुद्दा दर्ता भएकोमा हत्याका १६, हत्या प्रयासका १३, चोरीका २६, बलात्कारका २१ र बलात्कार प्रयासका ३, हातहतियार तथा खरखजानाका ६ मुद्दा दर्ता भएका थिए । लागू औषधमा २३, केही सार्वजनिक अपराधमा १ सय ८८, सवारीसाधन दुर्घटनामा मृत्युका ६२, घाइते ५, ठगीमा ५, बालविवाहमा १, कालोबजारीमा ४, गर्भपतनमा २, चन्दामा १ र बम बिष्फोटमा १ वटा मुद्दा दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७४/०७५ मा जिल्ला प्रहरी कार्यालय धनुषामा ठाडो उजुरी तथा निवेदन दर्ता पनि उल्लेख्य संख्यामा भएको छ । शान्ति सुरक्षाका लागि मात्रै १ सय २०, झगडा वादविवादमा ७५, धाकधम्कीको ३३ वटा निवेदन तथा उजुरी परेका छन् । जग्गा विवादमा २ सय १२, गालीगलौजमा ३६, कुटपिटका १ सय ६४ र सवारीसाधन दुर्घटनाका ५० उजुरी दर्ता भएका छन् ।

चोरी तथा मालसामान हराएको २६ वटा, वैदेशिक रोजगारीमा लेनदेन तथा ठगीका २ सय ८, आवश्यक कारवाहीका लागि ४, घरखाली सम्बन्धी ८ र घर भाडा सम्बन्धी ७ उजुरी दर्ता भएका छन् ।

रातिसम्म मदिरा बिक्री गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले गत जेठमा २३ जना र असारमा ४ जना गरी २७ जनालाई पक्राउ गरी कारवाही गरेको र ८ जनालाई मदिरासहित पक्राउ गरेको जनाएको छ । अवैध मदिरा नियन्त्रण सम्बन्धी विशेष अभियान सञ्चालन गरी १६ वटा अवैध मदिरा भट्टी फुटाउनुका साथै तयारी मदिरा २ हजार ७ सय ९० लिटर र ४ हजार ६ सय ४५ लिटर कच्चा पदार्थ नष्ट गरेको जनाएको छ ।

विगतमा फरार रहेका अभियुक्तलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन गर्दा लागूऔषध सम्बन्धी ७८ र अन्य १५ गरी ९३ जना फरार अभियुक्तलाई पक्राउ गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्