
भक्तपुर – प्लाइउड व्यवसायी रोमन शिलाकारले नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहले चुनावमा भएको खर्च उठाउन भन्दै माग गरेको २० लाख चन्दा नदिएपछि व्यावसायीलाई आतंकित गरेको आरोप लगाएका छन् ।
भक्तपुर घर भई कपिलवस्तुमा प्लाइउड कारखाना सञ्चालन गर्दै आएका व्यवसायी शिलाकारले भक्तपुरमा पत्रकार सम्मेलन गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य शाहले चन्दा नदिएकै कारण आफूलाई धम्क्याउने र फसाउने काम गरेको आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा शिलाकारले भने, ‘२०७४ साल माघमा शाहले मसँग २० लाख रुपैयाँ चन्दा माग्नुभयो, त्यति ठूलो रकम दिन सक्दिन भनें, त्यसपछि पुनः गत साउन १ गते उहाँले आफैं फोन गरेर फेरि चन्दा माग्नुभयो, मैले २ लाखभन्दा बढी नदिने भनेपछि उहाँले धम्क्याउनुभयो ।’
घटनाबारे कपिलवस्तुका प्रहरी उपरीक्षक मनोज यादवलाई जानकारी गराएपछि घटनाको छानबिन गरी शाह नै दोषी पाएपछि प्रहरीले व्यवसायीलाई चन्दा नदिन र निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएपछि शाहले प्रहरी उपरीक्षक यादवलाई समेत बद्नाम गराउने प्रयास गरेको उनको भनाइ थियो ।
प्रहरीले उद्योगभित्र जबर्जस्ती प्रवेश गरेर मल झार्ने सुदाम यादव, शशिकान्त खेर, राकेशमणि त्रिपाठी र महेश पासवानलाई पक्राउ गरेर आवश्यक कारबाही अगाडि बढाएको बताएको छ । प्रहरी उपरीक्षक यादवसँग फोनबाट सम्पर्क गर्दा घटनामा प्रतिनिधिसभा सदस्य शाहले चन्दा माग गरेको बताउँदै घटनाबारे आवश्यक अनुसन्धान र कारबाही अगाडि बढाएको जानकारी दिए ।