काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरुको पूर्ण विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सरकारलाई दिएको समर्थन अहिले फिर्ता हुँदैन । फिर्ता लिनेबारे हाम्रो पार्टीले अहिलेसम्म कुनै योजना बनाएको छैन । यो सरकार दुई तिहाईको हो । संविधान संशोधनको लागि सरकारले पहल गर्नेमा हामी आशावादी छौं । हामी अहिले पर्ख र हेरको अवस्थामा छौं ।’ नेता महतोले नेता महतोले भने,‘हामी सरकारको रवैया र व्यवहार हेरेर अघि बढ्छौं । सरकार जसरी अघि बढ्छ, हामी पनि त्यसैगरि अगाढि बढ्छौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे समय आएपछि योजना बन्ला । तर अहिले हाम्रो कुनै योजना छैन ।’
महतोले आफ्नो पार्टी अहिले सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे । उनले भने,‘हामी सरकारमा जाने कुनै सम्भावना छैन ।’ सरकारले संविधान संशोधन गर्छ भन्नेमा आफूहरु पूर्ण रुपमा आशावादी भएकोले यदि संशोधन नगरे त्यसपछि आफूहरुले दबाई गर्न जानेको उनले बताए ।
महतोले थपे,‘अहिले नै दबाई गर्ने बेला भएको छैन्।’ पार्टीको महाधिवेशनबाट सहमतिमै नेतृत्व चयन गरिनेपनि उनले विश्वास दिलाए । उनले भने,‘हामी सहमतिमै महाधिवेशन सम्पन्न र्छौं । पार्टीको नेतृत्व र संगठनात्मक संरचनापनि सहमतिमै टुँगो लगाउँछौं ।’
पार्टीको नेतृत्वको लागि प्रतिष्पर्धा नहुने उनको ठोकुवा छ । उनले भने,‘पार्टीको नेतृत्व हामी सहमतिमै टुँगो लगाउँछौं । कुनै प्रतिष्पर्धा हुँदैन । अध्यक्ष मण्डल रहने वा नरहने भन्ने कुरापनि हामी सहमतिबाटै टुँगो लगाउँछौं । पार्टीको निर्णय सामूहिक प्रक्रियाबाट अगाडि बढाउँछौं।’
वर्तमान सरकारले काम नगरेकोमा आफूहरुको असन्तुष्ट रहेको उनको भनाई छ । उनले भने,‘सरकारसँग दुई तिहाई छ । हामी हाम्रो माग र सवालहरु पूरा गराउनको लागि दबाब दिईरहन्छौं । भर्खरैमात्रै पनि हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिमाईण्डर गराएका छौं । मुलुकको समस्या समाधान गर्नुहोस । दलित, आदिवासी, जनजाति, मधेशी जनताको सवालहरु संविधान संशोधनमार्फत हल गर्नुहोस भनेर दबाब दिएका छौं । अहिलेसम्म संविधानको पालना भएको छैन । जनताले नागरिकता पाएका छैनन् । जन्मसिद्ध नागरिकले पनि नागरिकता पाएका छैनन् ।’ मधेश आन्दोलन ताका नेता तथा कार्यकर्तालाई लगाईएको झुठा मुद्दा फिर्ता, बन्दी रिहाई गर्नपनि आफूहरुले दबाब दिएको उनले सुनाए ।
उनले भने,‘१५÷२० हजार मान्छे मार्नेहरु प्रधानमन्त्री भैसके । उनीहरुलाई रेड कार्पेट ओछ्याईसके । यही हो लोकतन्त्र ? रेशम चौधरीलाई अहिलेसम्म सांसदको प्रमाणपत्र बुझ्ने वातावरण बनाईएन ? सरकारको भनाई र गराईमा एकरुपता हुनुपर्छ । भन्ने एउटा अनि गर्ने अर्को गर्नुभएन ।’ सरकारलाई दिएको रिमाईण्डरपनि कुनै सुनुवाई नभए आफूहरु कडाईका साथ अल्टिमेट दिएर अघि बढ्ने उनको चेतावनी थियो ।