
काठमाडौं – प्रधानन्यायाधीशमा सिफारिस गरिएका कामु प्रधानन्यायाधीश दीपकराज जोशीबारे संसदीय सुनुवाइ विशेष समितिले आज पनि कुनै निर्णय लिएन ।
सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठक विनानिर्णय टुंगिएको हो ।
बैठकपछि नेकपाका सांसद एवम् समिति सदस्य योगेश भट्टराईले अर्को बैठकबाट निर्णयमा पुगिने जानकारी दिए ।
यस्तै कांग्रेसका तर्फबाट समिति सदस्य रहेका सांसद भीमसेनदास प्रधानले केही विषयमा थप छलफलको आवश्यकता देखिएकाले निर्णयमा पुग्न नसकिएको बताए ।
नेकपा र नेपाली कांग्रेसका शीर्ष नेतृत्वबीच आज साँझ वा भोलिसम्ममा छलफल गरेर सहमति खोज्ने तयारी भएको छ ।
नेतृत्वको अनौपचारिक सहमतिपछि समिति निर्णयमा पुग्ने नेकपाका एक नेताले बताए । नेकपा कांग्रेससँगको सहमतिमा जोशीको सिफारिसलाई सर्वसम्मतिले अस्वीकृत गर्ने पक्षमा रहेको ती नेताको दाबी छ ।
गत जेठ २९ गते बसेको संवैधानिक परिषद्को बैठकले कामु प्रधानन्यायाधीश जोशीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
गत फागुन ३० गते न्याय परिषद्ले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भइसकेको घोषणा गरेको थियो । त्यसको एक दिनपछि चैत १ गतेबाट लागू हुनेगरी पराजुलीले राजीनामा दिएका थिए ।
त्यसयता कामु प्रधानन्यायाधीशको रूपमा जोशीले सर्वोच्च अदालतको नेतृत्व सम्हाल्दै आएका छन् ।
जोशी शैक्षिक प्रमाण पत्र र आफ्ना कतिपय फैसलाका कारण विवादमा परेका छन् ।
समितिको अर्को बैठक यही साउन १६ गते दिउँसो साढे ३ बजे बस्नेछ ।