०६ असार २०८३, शनिबार

स्क्रब टाइफसका बिरामी बढे, जोगिन के गर्ने ?

साउन १५, २०७५
स्क्रब टाइफसका बिरामी बढे, जोगिन के गर्ने ?

काठमाडौंँ– टाइफाइडको लक्षणसँग मिल्दोजुल्दो स्क्रब टाइफसका बिरामीहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । काठमाडौंँ उपत्यका र त्यस आसपासका जिल्लाहरूबाट पनि स्क्रब टाइफसका बिरामी आउने क्रम बढिरहेको चिकित्सकले बताएका छन् । 

सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च संयोजक डा. शेरबहादुर पुनले केही दिनयता स्क्रब टाइफसका बिरामी बढ्न थालेको जानकारी दिनुभयो । गतवर्ष पनि वर्षा मौसमसँगै देखापर्ने स्क्रब टाइफसका बिरामी अहिले पनि देखा पर्न थालेका छन् । डा. पुनले भन्नुभयो, “सिन्धुपाल्चोक जिल्लाबाट मात्रै सरुवा रोग अस्पतालमा तीनजना स्क्रब टाइफसका बिरामी उपचारपछि फर्किएका छन् ।” 

सरुवा रोग विशेषज्ञ डा. पुनले पछिल्लो समय गोरखा, चितवन, सिन्धुपाल्चोक, धादिङ, काभ्रे र सर्लाही जिल्लाबाट स्क्रब टाइफसका बिरामी उपचारको लागि आएको जानकारी दिनुभयो । नेपालमा पहिलोपटक सन् २०१५ मा धरानको बीपी कोइराला मेमोरियल अस्पतालमा स्क्रब टाइफसका बिरामी देखिएका थिए । स्क्रब टाइफसकै कारण केही बालबालिकाको मृत्यु भएको थियो । डा. पुनका अनुसार वर्से्नि स्क्रब टाइफसबाट विरामीको मृत्यु भइरहेको हुन्छ । 

नेपालमा स्क्रब टाइफस फैलँदै गइरहेको भन्दै पुनले यसबाट अझै प्रभावित हुनसक्ने जानकारी दिनुभयो । पुनले स्क्रब टाइफस हुँदा उच्च ज्वरो आउने, छालामा बिमिरा देखिने, अत्याधिक टाउको दुख्ने, आँखा रातो हुने, ग्रन्थी सुन्निने, सास फेर्दा असजिलो हुने र किर्नाले टोकेको ठाउँमा कालो पाप्रो देखिने जानकारी दिदै यस्ता लक्षण देखा पर्नासाथ चिकित्सक कहाँ जान सुझाव दिनुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निवर्तमान निर्देशक डा. केदार सेन्चुरीले वर्षायाममा देखापर्ने स्क्रब टाइफस यो वर्ष पनि देखा पर्न थालेको जानकारी दिदै महाशाखामा फाटफुट रुपमा यसको रिपोर्ट आउन थालेको जानकारी दिनुभयो । महाशाखाका निर्देशक विवेककुमार लालले भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा आफू निर्देशक भएर आएको तीनदिन मात्र भएकोले यसबारे कुनै जानकारी नभएको बताउनुभयो । 

सरुवा रोग विशेषज्ञ डा. पुनले टाइफाइड, मलेरियाजस्ता रोगसँग यसको लक्षणसँग मिल्ने हुनाले स्क्रब टाइफसको पहिचान गर्न गाहे हुने बताउनुभयो । अन्य रोगसँग पनि स्क्रब टाइफसको लक्षण मिल्ने हुनाले प्रयोगशालामा परीक्षण गर्नुृपर्ने उहाँको सुझाव रहेको छ । 

स्क्रब टाइफसको पहिचान भैसकेको अवस्थामा डक्सीसाइक्लिन नामक औषधि प्रयोग गरेमा ४८ घण्टा भित्रमा उच्च ज्वरो कम भएर जाने जानकारी दिदै उहाँले गर्भवती महिला र आठ वर्षभन्दा कम उमेरका बालबालिकालाई भने एजिथ्रोमाइसिन नामक औषधि दिनुपर्ने बताउनुभयो । 

डा. पुनले स्क्रब टाइफसको उपचारमा ढिलो भए यसले जटिलता थपिँदै बिरामीको मृत्यु समेत हुने बताउनुभयो । स्क्रब टाइफस ‘ओरेनटिया सुसुगामुशी’ नामक ब्याक्टेरियाको कारणले हुने भन्दै सरुवा रोग विशेषज्ञ डा. पुनले यो रोग एकबाट अर्र्कोे माइट नामक सङ्क्रमित किर्नाबाट मात्र सर्ने बताउनुभयो ।

स्क्रब टाइफसबाट बच्न मुसाबाट बच्नुपर्ने, घर वरिपरि सरसफाई गर्ने, अन्न भण्डारण मुसाको पहुँच नहुने तरिकाले व्यवस्थित गर्ने, घर बाहिर बस्दा कपडा ओछ्याएर मात्र बस्ने, शरीरमा पूरा कपडा लगाउने गरेमा स्क्रब टाइफसबाट बच्न सकिने बताउनुभयो । 

पुनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गतवर्ष काठमाडौँका विभिन्न अस्पतालहरूबाट प्रयोगशाला जाँच गर्न पठाइएका बिरामी मध्ये तीन सयको हाराहारीमा स्क्रब टाइफस रोगको उपचार भएको बताउनुभयो ।, गोरखापत्रमा खबर छ ।
 

कमेन्ट गर्नुहोस्