१८ असार २०८३, बिहीबार

ठेकेदारका अनेक तिकडम : ठूला सडक निर्माणमै ढिलासुस्ती, यात्रुलाई मर्का

साउन १५, २०७५
ठेकेदारका अनेक तिकडम : ठूला सडक निर्माणमै ढिलासुस्ती, यात्रुलाई मर्का

बुटवल – बुटवल–बेलहिया ‘सिक्स’ लेन सडकको निर्माण कार्य आगामी दशैंसम्म पूरा नहुने देखिएको छ ।

व्यापारिक मार्ग विस्तार आयोजनाले आउँदो दशैंसम्म सडक निर्माण सम्पन्न गर्ने बताउँदै आएपनि अझै ६ किलोमिटर सडक बन्न बाँकी रहेकाले आयोजनाको काम लक्ष्यअनुसार पूरा नहुने देखिएको हो । सडक निर्माणमा ढिलाइ हुँदा यात्रु र स्थानीय लामो समयदेखि सास्ती खेप्नुपरेको छ ।

नेपाल–भारत पारवहन सहज र व्यापार विस्तार गर्न आर्थिक वर्ष २०६८÷०६९ देखि ६ लेन सडक बनाउन शुरू गरिएको थियो । आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठले तोकिएको समय भदौं मसान्तसम्म सडक निर्माण असम्भव देखिएको बताए ।

‘निर्माण गर्न बाँकी सडकको ठेक्का सम्झौता भदौं मसान्तसम्म छ,’ श्रेष्ठले भने, ‘ठेकेदारले धमाधम काम गरेपनि समयमा पूरा हुने देखिएन । हामीले अहिलेको दशैंमा यो सडक निर्माण गरी यात्रुलाई उपहार दिने बताएका थियौं । निर्माण सम्पन्न हुन मंसिर मसान्तदेखि पुस पहिलो सातासम्म पुग्ने देखियो ।’

‘बीच–बीचमा पिच भएको क्षेत्र हेर्दा करीब ८० प्रतिशत सडक बन्यो । अब २० प्रतिशत मात्र बाँकी छ,’ उनले भने । हालसम्म २१ किलोमिटर (बुटवल बजार क्षेत्रको २ लेन थप्नेबाहेक) पूरा भएको छ । बन्न बाँकी क्षेत्र मणिग्रामदेखि गोदार इन्जिनियरिङसम्म ४ प्याकेजमा काम भइरहेको छ ।

मणिग्रामदेखि सुनयना पथसम्म टेलिकम्यूनिकेसन इन्डिया लिमिटेड, सुनयनापथदेखि मधवलियाचोकसम्म कालिका रायमाझी जेभी कन्ट्रक्सन, मधवलियादेखि लखनचोकसम्म टीसीआईएल र लखनचोकदेखि गोदार इन्जिनियरिङसम्म विरूवा श्रेष्ठ एपेक्स जेभीले काम गरिरहेका छन् । 

आयोजनाले ४ वटै कन्स्ट्रक्सनको सम्झौता ४ महिना थप गर्ने तयारी गरेको छ । आयोजनाका अर्का इन्जिनियर योगेन्द्र अधिकारीले गत आर्थिक वर्ष भने लक्ष्यअनुसार काम भएको बताए । ‘हामीले आर्थिक वर्ष २०७४÷०७५ मा लक्ष्यअनुसार काम गर्न सफल भएका छौं,’ अधिकारीले भने, ‘८८ करोड रूपैयाँ बजेट छुट्याइएको थियौं । त्यो सम्पूर्ण खर्च भएको छ ।’

अधिकारीले थपे, ‘हामीले अहिले केही ठाउँ पीच गर्न तयारी अवस्थामा छौं । समय–समयको बेमौसमी वर्षाले अवरोध सिर्जना गर्छ ।’ आयोजना निर्माणको ५ अर्ब ८६ करोड रुपैयाँमध्ये अहिलेसम्म ४ अर्ब २८ करोड रूपैयाँ खर्च भइसकेको आयोजनाका प्रमुख जीवेन्द्र मिश्रले जानकारी दिए । बन्न बाँकी सडकका लागि १ लाख ७० लाख घनमिटर नदीजन्य पदार्थ आवश्यक पर्ने आयोजनाले जनाएको छ ।

‘अहिले नदीजन्य पदार्थको अभाव छैन । आवश्यक पर्ने पदार्थ पनि सहजै पाइन्छ,’ प्रमुख मिश्रले भने । सडक निर्माण शुरू भएपछि आयोजना ६ वटा आयोजना प्रमुख फेरिएका छन् । काम शुरू हुँदा सुरज सिग्देल थिए । त्यसपछि कृष्ण भण्डारी, चन्द्र सुवेदी, वीरेन्द्र महासेठ, सालिकराम रेग्मी र हाल जीवन्द्र मिश्र कार्यरत छन् ।

आकाशे पुल पनि समयमा बनेनन्

सिक्स लेनमा निर्माणाधीन १० वटा आकाशे पुलमध्ये ७ वटा यसै असार मसान्तभित्र सम्पन्न गर्ने सम्झौता भएपनि एउटा पनि पुल बन्न सकेन । केही पुलहरूको एकतिहाई काम भएपनि कुनै ठाउँमा फाउण्डेसन समेत बन्न सकेको छैन ।

योगिकुटी, राजमार्ग चौराहा, मिलनचोक, हस्पिटललाइन, ड्राइभरटोल, भैरहवा (आँखा हस्पिटल अगाडि) र देवकोटा चोकका आकाशे पुल निर्माण सम्पन्न हुने आयोजनाको थियो । इन्जिनियर श्रेष्ठले प्राविधिक कारणले पुल निर्माण हुन नसकेको बताए ।

पुल निर्माणको ठेक्का महादेव खिम्ती एसेएटिक र महेश जेभी बर्दघाटले लिएका छन् । ११ करोड रूपैयाँमा अपाङ्गमैत्री समेत रहेका पुल १५ महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का दिइएको थियो ।

अदालतको आदेशले विस्तारमा अन्यौल

अदालतको फैसलाले बुटवलको सडक विस्तार रोकिएको छ । स्थानीय संस्था र दलहरूको विरोधले ढिलो भइरहेको बुटवल चौराहादेखि चिडिया खोलासम्मको ३ किलोमिटर खण्ड ६ लेनमा विस्तारको काम भने अदालतको आदेशपछि अन्योलमा छ ।

स्थानीय उद्योगी व्यवसायी र राजनीतिक दलहरूले सडकखण्ड विस्तार आवश्यक नरहेको भन्दै १ वर्षसम्म गरेको अवरोध हटेर काम शुरू हुनै लाग्दा बैशाख १२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले नारायणदेवी प्रधानलगायत २२ जनाले क्षतिपूर्तिको माग गर्दै सडक विस्तार रोक्न दायर गरेको मुद्दामा सुनुवाइ गर्दै ‘प्रक्रिया पु¥याएर मात्र निर्माण गर्न’ परमादेश जारी गरेको थियो । 

अदालतको आदेश आउँदासम्म यो खण्डमा सडक मिचेर निर्माण भएका ३ सय ८४ मध्ये १ सय ९६ वटा घर र संरचनाहरू भत्काइसकिएको छन् । जसमध्ये ८३ घर बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाले बलपूर्वक र बाँकी घरधनी आफैंले भत्काएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्