
उच्च शिक्षा लिएर ठूलो मान्छे बन्ने सपना बोकी शहर पसेको छोरो अनायासै शहरमै फस्छ,
जति उम्कन खोज्यो उत्ति भित्रभित्रै धस्छ ।
शहरको भीडमा एक्लो हुँदा, अभाव र असफलताले मन रुँदा अनायासै आँशु खस्छ ।
जतिसुकै शहरिया हुन खोजुँ मनमा मेरो अझै गाउँ नै बस्छ ।
गोठालो जाँदा साथीहरूसँग खेलेको खेल, वर्षायाममा गाउँमा पस्ने बाढी र भेल ।
छिमेकीको बारीबाट चोरेर खाएको अम्बा, बयर र आँपको स्वाद, यो महानगरको झिलीमिली
अनि त्यो गाउँको अन्धकारमा पिलपिल गर्दै उड्ने जुनकिरी अनि टिलपिल गर्दै बल्ने टुकीको याद ।
त्यो बाल्यकालका मस्तीहरू अनि उपद्रो सम्झेर ल्याउँदा पनि शरीरमा कताकता काउकुती पस्छ,
जतिसुकै शहरिया हुन खोजुँ मनमा मेरो अझै गाउँ नै बस्छ ।
त्यो एक घण्टाको स्कूलको बाटो, त्यो गुच्चाको खेल अनि पुरानो मोजाको फुटबल,
बिर्सन कहाँ सकिन्छ र त्यो बाल्यकाल अनि अतितका सुन्दर पल ।
सम्झेर ल्याउँदा पनि मुटु चस्छ, जतिसुकै शहरिया हुन खोजुँ मनमा मेरो अझै गाउँ नै बस्छ ।
त्यो असोजमा फूल्ने सयपत्रीको सुवास, त्यो दशैँको नयाँ लुगा अनि तिहारको मीठो आभास,
त्यो घाममा खेल्दा डढेका छाला, त्यो मंसिरको महिना अनि खेतमा लहलह झुलेका धानका बाला ।
सम्झेर ल्याउँदा आँशु खस्छ, जतिसुकै शहरिया हुन खोजुँ मनमा मेरो अझै गाउँ नै बस्छ ।
त्यो घर र वृद्ध भएका मेरा बुवा/आमाप्रतिको कर्तव्य, आफ्नै परिवारप्रति थपिएको नयाँ जिम्मेवारी,
यो शहरको अभाव अनि महंगीको भारले भित्रभित्रै डस्छ,
जतिसुकै शहरिया हुन खोजुँ मनमा मेरो अझै गाउँ नै बस्छ ।
जतिसुकै शहरिया बन्न खोजुँ मनमा मेरो अझै गाउँ नै बस्छ ।।