१३ असार २०८३, शनिबार

चीनको सुप्रसिद्ध ग्रेट वाल भत्कियो

चीनको सुप्रसिद्ध ग्रेट वाल भत्कियो

काठमाडौं – चीनको ऐतिहासिक ग्रेट वालको एक भाग लगातार पानी परिरहेका कारण भत्किएको छ । येलो रिभरनजिक भइरहेको निर्माणलाई पनि यसको एक कारण बताइएको छ । 

शाङ्शी प्रान्तको दाई काउन्टीमा रहेको यानमेन प्रवेशद्वार भत्केको हो । मिङ राजवंशको समयमा बनाइएको ग्रेट वालको यो भाग साउन ६ गतेदेखि पर्यटकका लागि बन्द गरिएको छ । 

चीनको सरकारी समाचार संस्था सिन्ह्वा न्युजका अनुसार, ५०० वर्षदेखि यानमेन कुनै सहाराविना उभिरह्यो । 

सन् २०१६ मा यसको पुनर्निर्माण भयो । पुनर्निर्माण गराउँदा पर्खालको संरचना कमजोर भएको दाबी गरिएको छ ।

पर्यटन विभागले मर्मतको तयारी गरेको छ । यो ठाउँ ठाडो चट्टानमा रहेकाले मर्मत गराउन अप्ठ्यारो परिरहेको छ । भारी वाहनहरू त्यहाँ पु–याउन सकिएको छैन । अनि मौसम खराब भएकाले पनि गाह्रो परेको छ । 

चीनको ग्रेट वाललाई युनेस्कोले सन् १९८७ मा विश्व सम्पदा सूचीमा राखेको थियो । लगभग २१ हजार २०० किलोमिटर क्षेत्रमा फैलिएको ग्रेट वाल देशका १५ प्रान्तमा फैलिएको छ । 

सिन्ह्वाका अनुसार, बेइजिङमा रहेको बाडालिङ ग्रेट वाल विन्दु पर्यटकहरूले सर्वाधिक मन पराउने भाग हो । त्यहाँ दिनको २० हजार पर्यटक पुग्ने गरेका छन् । 

चीन सरकारले पर्यटकको संख्या बढाउनका लागि ग्रेट वालका अनेकौं भागको पुनर्निर्माण गराइरहेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्