
काठमाडौं– एसिया कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय टिममा ब्याटिङ प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक अपूर्व सुबोधभाइ देसाइ आउने भएका छन् ।
अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म भारतमा हुने एसिया कप छनोटका लागि ब्याटिङ तयारी गर्न उनी नेपाल आउन लागेका हुन् । उनको नाम आईसीसीमा सिफारिस गरेको नेपाली टिमका प्रशिक्षक जगत टमाटाले बताए ।
४३ वर्षका देसाइ भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नेशनल क्रिकेट एकेडेमी (एनसीए) बाट मान्यता प्राप्त लेभल ‘सी’ प्रशिक्षक हुन् । उनले गुजरातबाट सन् १९९६ देखि ९७ सम्म एक वर्ष फस्ट क्लास क्रिकेट खेलेका थिए ।
आईसीसीले स्वीकृत गरेपछि उनी आउने छन् । एसियाका टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट प्रक्रियाबाट गएको एक देशले एसिया कप क्रिकेट खेल्नेछ ।
भारतमा हुने छनोट खेलमा नेपालसँगै हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘ए’मा नेपाल, हङकङ र मलेसिया छन् ।