काठमाडौं – पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एक विमानमा यात्रारत महिला र उनको बच्चाको एक भिडियो अहिले खुबै चर्चामा रहेको छ ।
भिडियोमा बच्चा बेहोश देखिन्छ भने उसकी आमा चिच्याई चिच्याई क्रू सदस्यहरूलाई विमानको झ्याल खोल्न लगाउँछिन् । विमानमा एसी बन्द भएकाले बच्चा बेहोश भएको दाबी गरिएको छ ।
डन न्युजका अनुसार, भिडियो भाइरल भएपछि एयरलाइन्सले यस विषयलाई गम्भीरताका साथ लिएको छ ।
भिडियोमा बच्चालाई एक पुरुष यात्रुले समातेको देखिन्छ । आमा चाहिँ लगातार झ्याल ढोका खोल्न भनिरहेकी छन् । विमान कर्मचारी चाहिँ आमालाई प्रतीक्षा गर्न भनिरहेका छन् । एक कर्मचारी भन्छन्, ‘हामी पाइलटसँग कुराकानी गरिरहेका छौं ।’
भिडियोमा अन्य यात्री पनि ढोका खोल्न आग्रह गरिरहन्छन् । अन्य केही चाहिँ बच्चालाई पंखा हम्किरहेका भेटिन्छन् ।
पीआईएका प्रवक्ता मशूद तजवारले यो कुरा सामाजिक सञ्जालमा देखेपछि मात्र थाहा पाएको बताए । यो कुन उडानमा भएको थियो पनि आफूलाई थाहा नभएको उनले बताए ।
यस विषयमा पीआईएमा कुनै उजुरी नगरिएको पनि उनले बताए ।
एजेन्सी