
भगवान् विष्णुले आफैंले तय गरेर राजा दशरथको घरमा राजकुमार राम भएर जन्म लिनु भएको थियो । विष्णुले नै द्वापर युगमा कृष्णको अवतार लिनुभयो । तर यो भगवान्को कुरो भयो । मान्छेको जुनी पाउनेलाई पूर्वयोजना गरेर फलानो देश,स्थान वा परिवारमा जन्म लिने सुविधा हुँदैन । प्रारब्ध भन्छौं नि, हो त्यसैले तोकेको हुँदो रहेछ कुन मनुष्यले कुन कुलमा कसको सन्तान भएर जन्मिनु पर्छ । यो घामजत्तिकै छर्लङ्ग वास्तविकता हो । परन्तु यस यथार्थलाई कति मानिसले तत्परताका साथ स्वीकार गर्छन् ?
‘माता पिता र परिवार रोजेर जन्म लिने कुरा आउँदैन’, सिके लाल लेख्नुहुन्छ । २०६९ सालमा प्रकाशित रामनारायण मिश्र स्मृतिग्रन्थमा लालले मिश्रकै जन्म सम्भ्रान्त र सम्पन्न परिवारमा भएको कुरालाई सहज ढङ्गले उल्लेख गरेको पाइन्छ । स्मृतिग्रन्थले लाललाई ‘प्रखर राजनीतिक विश्लेषक’को रूपमा चिनारी गराएको छ । हुन पनि हो, विवेकशील लाल वास्तविकता स्वीकार गर्नुहुन्छ तर राजनीति गर्ने लालको प्रस्तुती भिन्दै शैलीका हुन्छन् : पहाडी प्रदेशमा, परिवारमा जन्म लिएकालाई लालका टिप्पणीले द्वेष, रीस र इर्ष्यायुक्त शब्द खर्च गर्दै शोषकको रूपमा चित्रित गरिरहेको हुन सक्छन् ।
हाम्रो समाजमा भाषण, प्रचार र अभियानद्वारा एउटा मानसिकता बनाइएको हुन्छ । २००७ सालको परिवेशमा राणा शासनको बारेमा यस्तै अवधारणाको निर्माण भयो र यद्यपि सबै राणा ‘क्रूर शासक’ थिएनन् । प्रजातन्त्रका योध्दा बी पी कोइरालाका वरिष्ठ सहयोगी सुवर्णशम्शेर पनि राणा थिए । राणा परिवारमा जन्मिनु वा राणा थर हुनु नै दोष वा अपराध ठान्ने मानसिकताले गाँजिएको प्रवृत्तिले जताततै दोष, खोट मात्र देख्छ । कविशिरोमणि लेखनाथले भने झैं, आफ्नो दृष्टि दोषी भएपछि जताततै दोष मात्र देखिन्छ ।
यस्ता समाजमा व्याप्त नकारात्मकहरू सोच सच्याएर सामाजिक सद्भाव, मेलमिलाप र राष्ट्रिय एकताको भावना जगाउन, मजबुत गराउन काम लाग्ने एउटा पुस्तक भर्खरै प्रकाशित भएको छ—निजी संस्मरण र अनुभूतिको रूपमा । “आफ्नै कुरा आफ्नै कथा ” की लेखिका सुशीला रानी राणा (मनोहरा) मा परिवर्तित नेपाली समाजका सदस्यले जान्दा बुझ्दा उपयोगी हुने अनेक प्रसङ्ग र सन्दर्भहरू छन् ।
आधुनिक नेपालको इतिहासमा जङ्गबहादुरबाट थालनी भै १०४ वर्षको कालखण्ड ओगटेको राणाकालको चर्चा, विवेचना बेला-बखत भैरहन्छ । वर्णन, विवरण समय-समयमा पुस्तककारको रूपमा आउँछन् । श्री ३ हरूको तथ्य वृत्तान्त (पुरुषोत्तम शम्शेर) र राणा शासनको वृत्तान्त (प्रमोद शम्शेर) यस सिलसिलमा उल्लेख गर्न सकिनेमध्येका दुइटा पुस्तक हुन् । प्रमोद शम्शेरको गुनासो भेटिन्छ प्राक्कथनमा : धेरैजसो इतिहासकारले एकतर्फी जस्तो भएर नराम्रा कुरा खोतल्ने र राम्रा कामको चर्चा नगर्ने गरेको पाइयो ।
सुशीला रानी राणाको संस्मरण-पुस्तकमा पनि यसबारे ठाउँ-ठाउँमा जिकीर (गुनासो) छ---पुष्टिका लागि चाहिने आधार र प्रमाण सहित । एउटा दृष्टान्त : जुध्द सडक बनाउँदा ध्रुवशम्शेरले एउटा घडेरी किनेर घर बनाएको कुरा महाराज जुध्दलाई थाहा भएछ । अनि छोरालाई यस बोलीबाट हप्काइएछ :-‘दुनिञादारलाई घर बनाउन दिएको ठाउँमा तैंले आफैं घर बनाउने, राजाको छोरा भएर यस्तो बेकाइदा गर्ने ?’ यहाँनेर सुशीला रानी राणाको जायज कथन छ: शक्तिशाली महाराजले छोरा नातिलाई घर बनाउन दिएको भए नयाँ सडक, जुध्द सडक सबै आफ्नै हुन्थ्यो, कसैको बोल्ने तागत थिएन । ‘ तर क्रूर र निरङ्कुश भनिएका राणाहरूको विवेकको मूल्याङ्कन गर्ने को ?’ अरूमा दोष मात्र देख्नेहरू बुध्दि विवेक कहाँ छ कुन्नि ? महाराज जुध्दकी नातिनी बुहारी (लेखिका)ले पुस्तकमा समावेश गरेकासूचनालाई पत्यारिलो नै मान्नुपर्छ । चित्तदुखाइ पनि निराधार छैन ।
तर यो पुस्तक राणा शासनको बचाउको ध्येयले लेखिएको भन्ठान्नु चाहिँ गल्ती हुनेछ । यो त शाह परिवारमा जन्मेर राणा परिवारमा बिहावारी भै राजदरबारमा २७ वर्ष सेवा गरेकी एक महिलाका निजी अनुभव र त्यसमा मिसिएर आएका भावोद्गारको सँगालो हो । बेली-विस्तारका क्रममा कतिपय कुरा नयाँ सूचना, जानकारी भएर आएका छन् ।
कतिपय कुरा लेखिकाकै बारेमा पाइन्छ : २००७ सालपछिको राजदरबारमा उहाँ पहिलो महिला अधिकृत कर्मचारी । उहाँले एम् ए (अंग्रेजी) को शैक्षिक योग्यता हासिल गरेपछि २०२२ सालमा राजदरबारको प्रशासनमा पस्दा देशमा राजा महेन्द्रको शासनकाल थियो भने २०४९ सालको आरम्भमा अवकाश पाउँदा नेपाल राजा वीरेन्द्रको राज्यकालमा थियो । संयोग, लेखिकाले राजदरबारको सेवाबाट निवृत्त हुँदा सह-सचिवको दर्जामा पुग्ने पहिलो महिला पनि हुनु भएछ । अर्को एउटा पारिवारिक संयोगको पनि चर्चा भएको छ पुस्तकमा : भोटको लडाञीमा ज्यान गुमाएका चौ. जसप्रताप शाहको वीरताको सम्मानमा जङ्गबहादुरले शाहकी पत्नीलाई लप्टनको दर्जा दिएका थिए । ‘उहाँले नेपाली सेनाको पहिलो महिला अधिकृत हुने सौभाग्य पाइबक्सेको पक्कै हो’ ।
राजदरबारमा जागीर खाँदैमा सुशीला रानी राणा दरबारका सबै चाल-चलन र परम्पराको समर्थक हुनु भएन; त्यसका झलक ठाउँ-ठाउँमा भेटिन्छन् यद्यपि कर्मचारीको अनुशासनले सबै भावना तत्काल पोख्न दिँदैनथ्यो । जस्तो, नेपालका शिक्षण संस्थाहरूमा पढेका उहाँजस्ताको भाउ दरबारमा थिएन ; ‘ विदेश गएर आउने मात्र योग्यता भएका ठानिन्थे । तिनैको वुध्दि र विचारको फलस्वरूप हाम्रो देश भ्रष्ट र भ्रष्टाचारीको गढ बन्यो भन्दा विराम नहोला’। सरल र जनस्तरको भाषामा आएको कति खरो विचार !
साहित्यमा लेखिकाको रुचि किशोरावस्थामै जागेको रहेछ । कालान्तरमा कुनै एकजना प्राध्यापकले ‘साहित्य के हो ?’ भन्ने प्रश्न गरेकोमा लेखिकाले जवाफमा भन्नुभएछ : ‘यो देखासिकी हो, प्रकृतिको अनुकरण हो’ । तर यसबारेको उहाँको परिष्कृत ठम्याइ अर्को पृष्ठमा पढ्न पाइन्छ : ‘ आँखा रसाउन सक्ने, मुटु कँपाउन सक्ने, सर्वाङ्गमा रोमाञ्च र रक्तसञ्चार गराउन सक्ने, आश्चर्यजनक, अद्भूत, भयानक अनि सर्वसाधारणले आफ्नैजस्तो अनुभूति प्राप्त गर्ने, सबैलाई आल्हादित पार्ने सामर्थ्य भएको भावाभिव्यक्ति नै साहित्य हो’।
सुशीला रानी राणा एकैसाथ परम्परागत वातावरणमा हुर्केकी गृहिणी अनि आधुनिक शिक्षा हासिल गरी सरकारी सेवामा रही उच्च पदमा पुगेकी आधुनिक महिला भएकोमा सन्देह रहेन । अर्को शब्दमा, उहाँको यतिखेरको लेखाइमा आधुनिकताको छाप यत्रतत्र पाइन्छ । तथापि नारीवादी चिन्तन, आन्दोलनका बारेका उहाँका कतिपय धारणा अहिलेका (उत्तर-आधुनिककालका) महिलाको लागि पाच्य नहुन सक्छन् । जस्तो, पुरुषमाथि पनि महिलाको अत्याचार भैरहेछ भन्ने लेखिकाको धारणा ।
‘नारीवादी होइन भन्दिनँ तर नारीलाई सर्वगुणसम्पन्न ठान्दिनँ’। संरक्षक त चाहिन्छ चाहिन्छ । ‘ सबैभन्दा उल्का त के लाग्छ भने बाबुआमालाई हेला गर्नेलाई अंश चाहिने, दिनैपर्ने, लिन लाज नलाग्ने । परपुरुषसँग संसर्ग राख्ने स्त्रीहरू पनि लाजै नमानी हकदाबी गर्ने’ ।
समग्रमा, लेखिकाले इतिहासकारहरूलाई सानो तर खँदिलो सन्दर्भग्रन्थ दिनुभएको छ । र, पुस्तकमा ‘दर्बारिया भाषा नपरोस्’ भनेर सक्दो यत्न गर्नुभएको छ । नेपाली भाषा र साहित्यप्रतिको उहाँको रुचि र समर्पण प्रशंसनीय स्तरको देखिन्छ ।
कृति: आफ्नै कुरा आफ्नै कथा
लेखिका/प्रकाशिका: सुशीला रानी राणा (मनोहरा)
संस्करण: पहिलो; २०७५
पृष्ठ: १३६ + मूल्य: रु. २००/