२४ जेठ २०८३, आइतबार

तिलोत्तमामा ५० हजार विरूवा रोप्न शुरू

साउन २६, २०७५
तिलोत्तमामा ५० हजार विरूवा रोप्न शुरू

तिलोत्तमा – रुपन्देहीको तिलोत्तमा नगरपालिमा शनिवारबाट वृक्षारोपण सप्ताह शुरू भएको छ । ‘ग्रीन तिलोत्तमा ः क्लीन तिलोत्तमा’ नाराका साथ नगरपालिकाले भदौ १ गतेसम्म चल्ने गरी हरियाली प्रवद्र्धन गर्न वृक्षारोपण सप्ताह आयोजना गरेको हो । सप्ताहअन्तर्गत नगरमा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका ५० हजार विरुवा रोपिने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

विभिन्न संघसंस्था, क्लव, टोल विकास संस्थालगायत समग्र नगरबासीको सहकार्यमा वृक्षारोपण हुने नगरपालिकाले जनाएको छ । जिल्ला वन कार्यालय तथा सामुदायिक वनमार्फत् प्राप्त वनस्पतिका ३० हजार तथा नगरपालिकाले खरिद गरेका फलफूलका २० हजार विरुवा रोपिने कार्यक्रम रहेको नगर प्रमुख घिमिरेले बताए ।

नगर प्रमुख घिमिरेले नगरपालिकाले उपलब्ध गराएका विरुवाहरु रोपी त्यसबाट लाभ लिन तथा हरियाली प्रवद्र्धन कार्यक्रममा सहभागी हुन सबै नगरबासीलाई आग्रह गरे । नगरपालिकाले वनस्पतिका विरुवा निःशुल्क र फलफूलका विरुवालाई न्यूनतम मूल्यमा टोल विकास संस्थामार्फत् नगरबासीलाई उपलब्ध गराइने जनाएको छ ।

नगर उपप्रमुख जागेश्वरी चौधरीले वडा कार्यालयमा सम्पर्क राखी आ–आफ्नो घर–आँगन, खाली जमिन तथा उपयुक्त स्थानमा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका विरुवा रोप्न नगरबासीलाई आह्वान गरे । वृक्षरोपण सप्ताहका संयोजक दानबहादुर चौधरीले रोपिएका विरुवालाई हुर्काइ त्यसबाट लाभ लिन सबैलाई आग्रह गरे । सप्ताह अन्तर्गत आँप, अम्बा, अनार, कागती, लिची, कटहर, अमला, जामुन, सुपारी, टिक, बकाईनो, खयर लगायत विभिन्न प्रजातिका विरुवा रोपिने छन् ।

यसैबीच, तिलोत्तमा–४ स्थित प्रस्तावित बाल उद्यान क्षेत्रमा शनिवार आयोजित एक कार्यक्रमबीच विरुवा रोपी नगर प्रमुख बासुदेव घिमिरेले वृक्षारोपण सप्ताह शुभारम्भ गरेका छन् । कार्यक्रममा उपप्रमुख जागेश्वरी चौधरी, नगर कार्यपालिका तथा नगरसभा सदस्य, कर्मचारी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिका साथै स्थानीय वासिन्दाले विरुवा रोपेका छन् ।

वडा नम्बर ४ का वडाध्यक्ष दिवाकर ढकालले शनिवार वृक्षारोपण सप्ताहको शुभारम्भ मात्र गरिएको बताउँदै प्रस्तावित बाल उद्यान क्षेत्रमा व्यवस्थित तरिकाले थप विरुवा रोपिने बताए । कार्यक्रमको संयोजन वडा नम्बर ३ र ४ ले संयुक्त रुपमा गरेका थिए । वर्षा हुँदाहुँदै सहभागीहरू वृक्षरोपणमा सहभागी भए ।

salt training

कमेन्ट गर्नुहोस्