
काठमाडौं – नेपालले चीनसँग गर्न लागेको दोस्रो संयुक्त सैनिक अभ्यासलाई भारतले चनाखो भई हेरिरहेको भारतीय पत्रिका द टाइम्स अफ इन्डियाले लेखेको छ ।
नेपालले बेइजिङसँग गरेको सैन्य कूटनीति भारतका लागि चिन्ताको विषय भएको पत्रिका लेख्छ । तर नेपालले आफ्नो परराष्ट्रनीति सावधानीपूर्वक अवलम्बन गरिरहेको पनि पत्रिकामा लेखिएको छ ।
नेकपाका सहअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्को महिना भारत भ्रमण गर्दैछन् र त्यसको केही दिनपछि उनी चीन जानेछन् । यसअघि प्रधानमन्त्री केपी ओली पनि चीन जानुअघि भारत गएका थिए ।
नेपालले चीनसँग संयुक्त सैन्य अभ्यास अघिल्लो वर्षको अप्रिल महिनामा गरेको थियो । भारतले त्यसमा चिन्ता जनाएपछि नेपालले अन्तिम समयमा अभ्यास सत्र घटाएको थियो । नेपाली सेनाका अनुसार, चीनसँगको पहिलो संयुक्त
अभ्यास उदीयमान आतंकवादको सामना गर्नका लागि नेपाललाई तयार पार्ने उद्देश्यले गरिएको थियो ।
यसपालिको अभ्यासलाई सगरमाथा मैत्री–२ नाम दिइएको छ र यो चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको राजधानी चेङ्दुमा हुँदैछ । यो वर्ष पनि दुवै देशका १५ जनासम्म सैनिक अभ्यासमा भाग दिने अपेक्षा छ ।
नेपालले विगत १३ वर्षदेखि भारतसँग मिलेर बटालियन स्तरको सूर्यकिरण नामक अभ्यास गरिरहेको छ र त्यसमा दुवैतर्फका गरी ३०० सैनिकले भाग लिन्छन् ।
भारतीय अधिकारीहरूका लागि भने प्रधानमन्त्री ओलीको भ्रमणपछि पूर्वप्रधानमन्त्री प्रचण्डले गर्ने भारत भ्रमणले कम्युनिस्ट सरकारअन्तर्गत परराष्ट्रनीतिमा आमूल परिवर्तनको डर आधारहीन रहेको पुष्टि गरेको छ ।
‘प्रचण्डको भारतको भ्रमणको मिति निश्चित गरिएको छ । उनी सेप्टेम्बर ७ देखि १२ सम्म भारतको भ्रमण गर्नेछन् । भारत भ्रमणबाट फर्केपछि उनी सेप्टेम्बर १७ देखि एक हप्ताका लागि चीन भ्रमणमा जाँदैछन्,’ एक आधिकारिक वक्तव्यमा लेखिएको छ ।