२२ जेठ २०८३, शुक्रबार

हत्या अभियोग लागेका ‘फरार’ राज्यमन्त्री शर्मा जिल्ला अदालतमा उपस्थित

साउन २८, २०७५
हत्या अभियोग लागेका ‘फरार’ राज्यमन्त्री शर्मा जिल्ला अदालतमा उपस्थित

जनकपुरधाम – सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक (असई) थमन विकको हत्या अभियोग लागेका २ नम्बर प्रदेश सरकारका राज्यमन्त्री अभिराम शर्मा अदालतमा उपस्थित भएका छन् ।

उच्च अदालत जनकपुरले प्रहरीका नाममा अभियुक्त शर्मालाई पक्राउ गर्न परमादेश जारी गरेको केही हप्तापछि शर्मा जिल्ला अदालत महोत्तरीमा उपस्थिति भएका छन् । प्रदेश सरकारको राज्यमन्त्री भएका शर्मालाई प्रहरीले भने पक्राउ गरेन ।

मृतक विककी पत्नीले हत्या घटनाका अभियुक्तहरू सार्वजनिक पदमा बसेर खुलेआम घुमिरहेको भनेर उच्च अदालतमा निवदेन दिएपछि अदालतले पक्राउ गर्न प्रहरीका नाममा परमादेश जारी गरेको थियो । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद समेत रहेका शर्माले पार्टीको अध्यक्षमण्डलसँग छलफल गरेपश्चात् अदालतमा उपस्थित भएका हुन् । 

पार्टी अध्यक्षमण्डलले आइतवार काठमाडौंमा शर्मा लगायत मधेश आन्दोलनमा भएका अन्य घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो ।

२०७२ भदौ २५ गतेको हत्या घटना भएको थियो । सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विक जलेश्वरमा आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो । आन्दोलनका क्रममा सरकारी निर्देशन बमोजिम खटिएको सशस्त्र प्रहरी टोलीका असई विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर लाठी र भाँठाले कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरी रिपोर्टमा उल्लेख छ ।

असई हत्या घटनामा संलग्न अभियुक्त मध्येका एक हुन्, महोत्तरीको जलेश्वर नगरपालिका–१४ निवासी ३७ वर्षीय अभिराम शर्मा । प्रहरी रेकर्ड अनुसार शर्मा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी हुन् । प्रहरी रेकर्डमा फरार रहेकै बेला उनी २ नम्बर प्रदेशको प्रदेशसभा सदस्य निर्वाचित भए । उनी महोत्तरीको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित भएका हुन् । यति हुँदासम्म पनि प्रहरीले उनलाई पक्राउ गरेन ।

हुँदाहुँदा अभियुक्त अभिराम शर्मा अहिले २ नम्बर प्रदेशका राज्यमन्त्री भए । २०७५ साउन ९ गते पुनर्गठन भएको प्रदेश मन्त्रीपरिषद्मा राष्ट्रिय जनता पार्टी (राजपा) बाट शर्मा राज्यमन्त्री बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्