
कञ्चनपुर – कञ्चनपुरको महाकाली नदी र जगबुडा नदीमा पानीको बहाव बढेपछि बाढी नदी किनारका बस्तीमा पसेको छ ।
महाकाली नदी पारिको महाकाली नगरपालिका–८, ९ र १९ का बस्ती डुबानमा परेका छन् । नगरपालिकाका शान्तिटोल, गिरी टोल, गुरुङ टोल, कुतियाकबर लगायतका बस्ती डुबानमा परेका इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए ।
डुबान क्षेत्रका वासिन्दा विस्थापित भएर अन्यत्र आश्रय लिएर बसेका छन् । विस्थापितलाई प्रहरी, सशस्त्र प्रहरी लगायतको उद्दार टोलीको सहयोगमा सुरक्षित स्थानमा राखिएको छ । भारतीय पक्षले जगबुडा नदीमा पानी छोडेपछि बस्ती डुबानमा परेको महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए ।
नगरपालिका क्षेत्रमा हरेक वर्ष हरेक वर्ष महाकाली र जगबुडा नदीका कारण हरेक वर्ष डुबानको समस्या हुने गरेपनि स्थानीय समाधानका लागि सरोकारवाला निकायले ध्यान दिएको छैन । भारतले धार्चुलास्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ ।
केन्द्रका अनुसार बिहान ७ बजेदेखि ९ बजेसम्मका लागि धौलीगंगा परियोजनाको बाँधका ढोका खोलिएका छन् । भारतले ढोका खोल्दा महाकाली नदीमा पानीको बहाव बढेको छ ।
