
धनगढी – ७ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय पेचिलो बनेको छ ।
प्रदेश राजधानी तराईमा राख्ने कि पहाड राख्नेबारे पार्टी भित्रकै सांसदबीच मत बाँझिन थालेपछि विषय झन्झन् पेचिलो बन्दै गएको हो । तराईबाट निर्वाचित सांसदले तराईमा र पहाडबाट निर्वाचितले पहाडमा राजधानीको पक्षमा उभिन थालेको बताइएको छ । प्रदेश सरकारमा दुईतिहाई बहुमत रहेको नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अझैसम्म आधिकारिक धारणा बनाउन सकेको छैन ।
सहमतिको वातावरण अझै नबनेको भन्दै सुझाव संकलनको लागि बनेको सुझाव संकलन विशेष समितिको म्याद पुनः दोस्रो पटक थपिने निश्चित भएको छ । १ हप्ताभित्र प्रतिवेदन तयार गर्न भनी साउन १४ गते गठन भएको समितिले काम गर्न नसकेपछि साउन २१ गतेको संसद बैठकले एक हप्ताको लागि म्याद थपेको थियोे । जुनअनुसार मंगलवार बस्ने संसद बैठकमा सो समितिले प्रतिवेदन पेश गर्नुपर्ने हो । तर, अझैपनि सुझाव संकलनको कार्य जारी रहेको भन्दै समितिले म्याद थपको पहलमा लागेको समेत बताइएको छ ।
विशेष समिति सदस्य एवं सांसद चुनकुमारी चौधरीले अझै पनि प्रतिवेदन बुझाउन सकिने अवस्था नरहेको बताइन् । उनले भनिन्, ‘राजधानी र नामाकरणको बारेमा छलफल जारी रहेकोले प्रतिवेदन आज आउन सक्ने अवस्था सम्भावना छैन ।’
केन्द्रमै मुख ताक्ने प्रवृति
प्रदेश स्तरमा सहमतिको वातावरण कमजोर बन्दै गएपछि नेता शीर्ष नेतालाई धाउने क्रम पनि बढेको छ । केही दिनयता प्रदेशका मन्त्री र सांसदले काठमाडौं ओहोरदोहोरलाई तीब्रता दिएका छन् ।
राजधानी र नामाकरणबारे बनेको विशेष समिति संयोजक एवं सांसद तारालामा तामाङ पनि काठमाडौंमा व्यस्त रहेका छन् । उनले शीर्ष नेतासँगको भेटघाटलाई तीब्रता दिएको बुझिएको छ । तर, उनले २ पार्टीबीचको एकीकरणपछि पार्टीको संरचनाबारे छलफलको लागि काठमाडौं आएको बताएका छन् । प्रदेशका नेताले शीर्ष नेता भीम रावल, लेखराज भट्ट, नारदमुनि राना लगायतलाई भेट्ने गरेका छन् ।
राजधानीको लागि भूगोललाई आधार बनाउन सुझाव
सुझाव संकलनको कार्य जारी रहेकै बेला थारु आगुवाले राजधानीको लागि भूगोललाई आधार बनाउन सुझाव दिएका छन् । थारु नागरिक समाज कैलालीले सोमबार धनगढीमा आयोजित समसमायिक विषयमा छलफल कार्यक्रममा इतिहासकार एंव लेखक महेश चौधरीले प्रदेशको स्थायी राजधानी दीर्घकालीन सोचको आधारमा तोक्न सुझाव दिए ।
तत्कालीन नेकपा एमालेको राज्यमन्त्री समेत रहेका उनले प्रदेशको सबै जिल्लाको पायक पर्ने र समानुपातिक विकासमा सहयोग पुग्ने दृष्टिकोणका साथ राजधानी बनाउनुपर्ने बताए ।
‘प्रदेश एकल पहिचानको आधारमा होइन, बहुपहिचानको आधारमा प्रदेश बनाइएको छ । जसको समानुपातिक विकासको लागि भूगोलको आधारमा राजधानी बनाए उत्तम हुन्छ,’ उनले भने, ‘भूगोल शास्त्रको मान्यतालाई आधार मान्ने हो भने राजधानी भएको स्थानमा जनसंख्या केन्द्रीकृत हुन्छ । जुन कारण पहाडको दिपायल उत्तम विकल्प हो । जसले तराई, पहाड र हिमाललाई समेत जोड्ने काम गर्नेछ ।’
कार्यक्रममा प्रदेश सांसद मालामति रानाले पनि राजधानी पायक पर्ने स्थान या धनगढीमै बनाउन जोड दिइन् । अस्थायी राजधानी धनगढीमा विभिन्न संरचना निर्माण गर्नमा लगानी भएकाले धनगढीमै राख्न जोड दिइन् ।