०८ असार २०८३, सोमबार

विद्यालयको खानेपानी ट्यांकीमा ‘खतरनाक’ विष : २० विद्यार्थी बिरामी, २ गम्भीर

विद्यालयको खानेपानी ट्यांकीमा ‘खतरनाक’ विष : २० विद्यार्थी बिरामी, २ गम्भीर

विराटनगर – मोरङको लेटाङ नगरपालिकाको जाँतेस्थित श्री माध्यमिक विद्यालयको खानेपानी ट्यांकीमा अज्ञात व्यक्तिले विष मिसाइ दिँदा २० जना विद्यार्थी बिरामी परेका छन् भने २ जनाको अवस्था गम्भीर रहेको छ ।

मंगलवार बिहान विद्यालय आएका विद्यार्थी पानी खाएपछि बिरामी परेका थिए । प्रावि तहका बालबालिकाले पानी खाएपनि थाहा नपाएको र माविका विद्यार्थीले गन्ध आएको थाहा पाएपछि घटना बाहिर आएको थियो । 

विद्यार्थी पानी खाने बित्तिकै किन बिरामी परे भनेर सोधीखोजी भएको थियो । तर, केही विषादी गन्हाएको थाहा पाएपछि बिरामीलाई तत्काल उपचारको लागि उपस्वास्थ्य चौकी पठाइएको थियो । पानीमा विष कसले हाल्यो भन्ने बारेमा केही नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । 

पानीमा साइपर मेथिन १० विषादी मिसाइएको पाइएको प्रहरीले जनाएको छ । प्रहरी चौकी जाँतेका सहायक प्रहरी निरीक्षक (असई) हरीनारायण राजवंशीले कक्षा १ देखि १० सम्मकै २० जना विद्यार्थी बिरामी भएकोमा २ जनाको अवस्था गम्भीर रहेको जानकारी दिए । 

गम्भीर बिरामी भएकामध्ये २ जना सृष्टी निरौला र खुस्बु मिश्रलाई थप उपचारको लागि विराटनगर पठाइएको उनले बताए । अन्य बिरामी १८ जनाको मंगलवारे उपस्वास्थ्य चौकी उर्लावारीमा उपचार भइरहेको छ । टाढाबाट विद्यालय आएका विद्यार्थी शुरूमै पानी खाने बित्तिकै बिरामी परेका थिए ।

विषादी हानिकारक 

विद्यालयको पानी ट्यांकीमा मिसाइएको साईपर मेथिन १० विषादी हानिकारक विष भएको विज्ञले बताएका छन् । विषादी विशेषत खेती र बालीमा किरा मार्न प्रयोग गरिने विषादी भएकाले हानिकारक रहेको बाली रोग विशेषज्ञ सागर भट्टराईले जानकारी दिए । 

‘यो विष हो । विभिन्न खेती प्रयोजनमा प्रयोग गरिन्छ । यो निकै कडा विष तर चाँडै खण्डित हुने भएकाले यसको ७ दिन वेटिङ पिरियड हुन्छ,’ उनले भने, ‘यो सिन्थेटिक पाइरीफ्लोराइड विषादी हो ।’ 

विष मान्छेसम्म आइपुग्दा पानी र विषको तालमेल नमिल्न पनि सक्ने उनले बताए । ‘यसमा पानीको मात्रा थपघट हुँदा विषादीको प्रभावकारीता पनि थपघट हुन्छ । ठूलो पानीको भोल्युममा थोरै विष मिसाइएको हो भने मान्छे बाँच्ने सम्भावना बढी हुन्छ,’ उनले भने, ‘यदि विषादीको पानीमा हाल्नुपर्ने मात्रा मिलेको अवस्थामा यो विषदी घातक हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्