३१ असार २०८३, बुधबार

विश्वमा सभ्यताको द्वन्द्व चर्किने संकेत देखिएको हो ?

कात्तिक २०, २०७४
 विश्वमा सभ्यताको द्वन्द्व चर्किने संकेत देखिएको हो ?
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि उनले चालेका केही कदमले सभ्यताको द्वन्द्वको छनक दिएका छन् । सभ्यताको द्वन्द्व पनि विशेषगरी क्रिस्चियन र मुसलमानका बीच हुने संकेत देखिँदैछ । सात मुसलमानबहुल देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने कार्यकारी आदेश, यमनमा आक्रमण गरेर सर्वसाधारण नागरिकको हत्या, इरानमाथि प्रतिबन्ध लगाउने चेतावनी, मुसलमानहरूमाथि अमेरिकामा छिटपुट आक्रमण लगायतले यसका संकेत दिएका हुन् ।


ट्रम्पको कठोर कदमका पछाडि ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार स्टिभ ब्याननको हात छ । ट्रम्पको चुनावी अभियानका प्रमुख रणनीतिकार ब्यानन उग्रदक्षिणपन्थीहरूको समाचार वेबसाइट ब्रीटबार्ट न्युजका प्रमुख थिए । अहिले उनी ह्वाइट हाउसमा बसेर ट्रम्पलाई सल्लाह दिइरहेका छन् ।

ब्यानन युगपरिवर्तन सम्बन्धी सिद्धान्तका प्रवर्तकद्वय विलियम स्ट्राउस र नील होवेबाट प्रभावित छन् । यी दुई सिद्धान्तकारहरूका अनुसार अमेरिकी इतिहास चारवटा चरणसहितको संकटचक्रमा घुम्छ । प्रमुख संकटहरूमा एकपछि अर्को पाइला चाल्दै इतिहास अघि बढ्छ ।

ब्याननका अनुसार यस्तो संकट सहस्राब्दीको शुरुवातबाटै आएको छ । अमेरिकाको न्युयोर्कस्थित ट्विन टावरमा अलकायदा आतंकवादी समूहले गरेको आक्रमण अनि सन् २००८ को आर्थिक मन्दीले संकटको नयाँ चक्रमा प्रवेश गरेको जनाउ दिइसकेको छ । अमेरिकाको इतिहासमा यसअघिका तीन संकट भनेका बेलायती साम्राज्यबाट स्वतन्त्रताको क्रान्ति, गृहयुद्ध र दोस्रो विश्वयुद्ध हुन् । अनि अहिले आर्थिक मन्दीपछिको संकट पनि तिनै पुराना संकटकै अनुपातको विशाल संकट हो । ब्यानन क्रिस्चियन धर्मले उल्लेख गरेको अन्तिम विनाश (एपोक्यालिप्सी) मा विश्वास गर्छन् । त्यो अन्तिम विनाशको क्षणमा इतिहास प्रवेश गरिसकेको उनको मान्यता छ ।

ब्याननका अनुसार क्रिस्चियन धर्म अस्तित्वको लडाईंमा छ र अहिलेचलेका सबै द्वन्द्वहरू त्यसैका अंग हुन् । त्यसैले सबै पुराना सन्धिसम्झौता च्यात्नुपर्छ, शत्रुहरू निर्क्यौल गर्नुपर्छ अनि संस्कृति नै परिवर्तन गर्नुपर्छ । ब्याननले द वाशिङटन पोस्टलाई केही समयअघि नयाँ राजनीतिक व्यवस्थाको उदय भइरहेको बताएका थिए ।

ब्याननलाई प्रभावित गर्ने स्ट्राउस र होवेले चौथो संकटका बेलामा पुरानो पुस्ताबाट एक अनपेक्षित नेताले अमेरिकाको नेतृत्व गर्ने र एक्काईसौं शताब्दीमा जन्मेका मानिसलाई नयाँ व्यवस्थातर्फ डोहो–याउने भविष्यवाणी गरेका थिए । ब्याननका दृष्टिमा ७० वर्षीय डोनाल्ड ट्रम्प ती पुराना पुस्ताका नेता हुन् । उनले अनपेक्षित रूपमा राष्ट्रपतीय निर्वाचन जितेका पनि हुन् । अब ट्रम्पले यो संकट अवधिभर शासन चलाउने ब्याननको विश्वास छ ।

त्यस्तै सन् २०११ मा ब्याननले रिपब्लिकन पार्टीका महिलाहरूको एक भेलालाई सम्बोधन गर्दै ८० वा सय वर्षको चक्रमा प्रमुख संकटहरू आउने बताउँदै अबको दश वर्षमा नयाँ संकटको अवधि शुरु हुने बताएका थिए । यहुदी क्रिस्चियन पश्चिमको भित्रभित्रै पतन हुँदैछ र यसको परिणाम अत्यन्त खतरनाक हुनेछ भनी ब्याननले त्यतिबेला बताएका थिए । अब युद्ध हुन्छ भन्ने ब्याननको तर्क थियो ।

‘इस्लाम धर्मको विस्तार हुँदैछ अनि कन्फ्युसियन–नास्कितवादी चीन पनि आक्रामक रूपमा अघि बढ्दो छ । यसकारण क्रिस्चियन पश्चिम पछि हट्दैछ,’ ब्याननले सन् २०१६ मा एक रेडियोलाई अन्तर्वार्ता दिँदै भने । अतिवादी इस्लामविरुद्ध हामी सय वर्षे युद्धमा छौं भनी उनले रेडियोमा बोले । अनि पाँचदेखि दश वर्षभित्र दक्षिण चीन सागरमा पनि युद्ध हुँदैछ उनले भने । त्यसैको परिणामस्वरूप उनले ट्रम्पलाई मुसलमानहरूमाथि कठोर प्रतिबन्ध लगाउन उक्साए अनि चीनले कब्जा गरेका द्वीपहरू खोस्न सकिने चेतावनी दिए ।

इस्लामी अतिवादलाई प्रतिकार गर्न यहुदी क्रिस्चियन पश्चिमले युद्ध गर्नुपर्ने उनको तर्क छ । यसो नगरे मुसलमानहरूले अमेरिकामा बलियो भएर शरिया कानून लगाउने उनी विश्वास गर्छन् ।

ब्याननको यो तर्क मुसलमानी अतिवादी संगठनहरूको विश्वदृष्टिसँग मिल्न आउँछ । पश्चिमा मुलुक र मुसलमानी दुनियाबीचको द्वन्द्व उनीहरूको पनि साझा दृष्टि हो । मुसलमान देशका नागरिकलाई अमेरिका आउन प्रतिबन्ध लगाइएपछि अतिवादी मुसलमानी समूहले काखी बजाउने मौका पाए । संसारलाई विभाजित दृष्टिकोणले हेर्ने ब्याननको उग्रदक्षिणपन्थी दृष्टिसँग साम्य भेटिँदा अतिवादी मुसलमानी समूह एकदमै खुशी भयो ।



स्टिभ ब्यानन

ब्याननले मुसलमानसँग लामो द्वन्द्व हुने बताइरहँदा अतिवादी संगठन इस्लामिक स्टेट (आइएस) का नेता अबु बक्र अल–बग्दादीले पनि केही समयअघि यस्तै खालको चेतावनी दिएका थिए । ‘हामीहरू नयाँ युगमा प्रवेश गरिरहेका छौं । अहिलेसम्म सुतिरहेकाहरू अब जाग्नुपर्छ । सच्चा मुसलमानहरू अब लडाईंमा लाग्नुपर्छ । त्यसैले तिमीहरू हतियार जम्मा गर र कठोर लडाईंमा होमिऊ,’ उनले भनेका थिए ।

हुन त साधारण मुसलमानहरू आफैंले आइएस र अलकायदा जस्ता अतिवादी संगठनलाई मन पराउँदैनन् । अनि ट्रम्पलाई मत दिने अतिवादी क्रिस्चियन पनि सानो संख्यामा छन् तर यिनीहरूको आवाज बढ्दै गएर ठूलो द्वन्द्व ननिम्तेला भन्न सकिन्न ।

आइएसले जानाजान पश्चिमको संवेदनशीलतामाथि आक्रमण गर्छ । पश्चिममा र मुसलमानी दुनियामा सहिष्णुता र सहअस्तित्वमा विश्वास गर्नेहरूलाई पनि क्रूरतापूर्वक हत्या गरेर आइएसले अतिवादी क्रिस्चियनहरूसँगको आफ्नो लडाईं अघि बढाउने रणनीति लिएको छ । भलै अहिले आइएसले हतियारको लडाईं हारेको होस् अनि इराक तथा सिरियामा पछि हट्नुपरेको होस्, तर विचारधाराको प्रचार गर्दै युवाहरूलाई अतिवादी बनाउने अभियान उसले रोक्ने संकेत छैन ।

अमेरिकीहरू विदेशका लडाईं झगडाबाट वाक्कदिक्क भएसकेका भएपनि आइएसले अमेरिकी सेनालाई सशस्त्र द्वन्द्व भएका ठाउँमा आउनका लागि लोभ्याउन छोडेको छैन । अमेरिकाको बाहिरी लडाईं रोक्ने प्रतिज्ञा गरेका ट्रम्पले पनि यमनमा आक्रमणको आदेश फिर्ता लिएनन् ।

अमेरिकामा दक्षिणपन्थी राजनीतिले सफलता गरेसँगै सरकारमा कब्जा जमाएको छ । अमेरिकी सेना संसारकै सबभन्दा शक्तिशाली हो र यसमा दक्षिणपन्थीहरूको कब्जा छ । सभ्यताको द्वन्द्वप्रतिको उत्साह देखाउने दक्षिणपन्थीलाई देखाएर आइएसले आफ्नो खतरनाक विचारधारालाई अघि बढाउन मद्दत गर्छ ।

यमनमाथिको आक्रमणमा अलकायदाका प्रचारक अनवर अल–अव्लाकीकी छोरी नवर अल–अव्लाकीको मृत्यु भएको र यसको बदला लिनका लागि अलकायदा उद्यत रहेको रहस्य पनि खुलेको छ । त्यहाँ अन्य निर्दोष नागरिकलाई पनि अमेरिकाले मारेको भन्दै संसारभरि निन्दा भइरहेको तथ्यलाई जिहादको ज्वाला संसारभरि फैलिएको भनी अलकायदाले व्याख्या गरिरहेको छ । त्यो अतिशयोक्ति भएपनि इस्लामी अतिवादलाई देखाएर ट्रम्प प्रशासनले राजनीतिक फाइदा उठाउन सक्ने देखिन्छ । अनि ट्रम्पले सर्वसाधारण मुसलमानमाथि प्रतिबन्ध लगाएर अतिवादी मुसलमानी समूहलाई लडाईं चर्काउने मसला दिएको पाइन्छ ।

अनि त्यसमाथि विश्वराजनीतिमा पुनरुदय गरिरहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि उग्रदक्षिणपन्थी अर्थोडक्स क्रिस्चियनवादलाई आक्रामक रूपमा अघि बढाइरहेका छन् । शिया इरान र सिरियालाई हातमा लिएर उग्रसुन्नी आइएसलाई परास्त गर्न रुस लागिपरेको छ । त्यसैगरी फ्रान्स, नेदरल्यान्ड्स, हंगेरी लगायतका पश्चिमा मुलुकमा मुसलमानहरूमाथि कठोर नीति अपनाउनेहरूको उदय भएको छ । आइएसले पनि ती देशलाई आक्रमणको तारो बनाइरहेको छ । यस्तोमा अमेरिकी राजनीतिशास्त्री स्यामुएल हन्टिङटनले बताएको सभ्यताको द्वन्द्वले मूर्त रूप लिने संकेतहरू देखिँदैछन् ।

द हफिङटन पोस्ट र द सियाटल टाइम्समा प्रकाशित सामग्रीहरूका आधारमा

salt training

कमेन्ट गर्नुहोस्