१० साउन २०८३, आइतबार

पहिरो पीडितलाई सुरक्षित स्थानमा सारिने

पहिरो पीडितलाई सुरक्षित स्थानमा सारिने
सन्दर्भ तस्वीर

म्याग्दी- अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइँठे र काभ्रेका पहिरो पीडितलाई सुरक्षित स्थानमा सारिने भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, वडाध्यक्ष नरसीङ पुर्जा, बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रतिनिधि र पीडितबीच भएको छलफलपछि उच्च जोखिममा रहेका १० घरपरिवारलाई अस्थायी रूपमा सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको हो । 

बेनी–जोमसोम सडक विस्तारको क्रममा पाखो भत्किएर पहिरो खस्न थालेपछि गुइठेका कृष्ण बस्याल, उदयबहादुर सार्की, गणेश कटुवाल, राजु बिक, देउमाया सार्की, कर्णबहादुर नेपाली, सोमबहादुर मिजार, गोविन्द केसी र दीर्घबहादुर थापाको परिवार विस्थापित भएका हुन् । 

यसैगरी काभ्रेका भक्तबहादुर पाइजा, भूमिराज पाइजा र होमबहादुर पाइजाको परिवारलाई पनि सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउने निर्णय भएको वडाध्यक्ष पुर्जाले बताउनुभयो । पहिरो पीडितलाई बेनी–जोमसोम–कोरला सडक आयोजनाले जस्तापाता र खानेपानीको पाइप उपलब्ध गराउने भएको छ । 

गुइठेका पहिरो पीडितलाई आयोजनाले २५ एमएमको २५० मिटर पाइप उपलब्ध गराइसकेको स्थानीय सुरत केसीले जानकारी दिनुभयो । गाउँपालिकाको बुधबार बसेको बैठकले रु ५० हजार विनियोजन गरेको छ । सडक आयोजनाले जस्तापाता उपलब्ध गराएपछि केही समय बस्नका लागि अस्थायी टहरा निर्माण गर्ने तयारी भएको छ । पहिरोपीडित हाल छिमेकी र आफन्तकोमा आश्रयमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्