
जनकपुरधाम – प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार २ नम्बर प्रदेशमा भव्य स्वागत गरिएको छ ।
मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीले जनकपुर विमानस्थलमा पुगेर प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै प्रदेश सभासम्म ल्याएका थिए । प्रदेश सभामा पुगेपछि सभामुख सरोजकुमार यादवले प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै आफ्नो कार्यकक्षमा लगेका थिए ।
करीब ४० मिनेटको कुराकानी र विभिन्न सांसदसँगको भेटघाट सकिएपछि प्रधानमन्त्री ओली सदनमा उपस्थित भएका थिए । करीब ८५ मिनेट लामो सम्बोधन गरेपछि ओलीलाई खाना खुवाउन सभामुख यादवले आफ्नो सरकारी निवासमा लागेका थिए । ओलीलाई मिथिला भोजन सहितको परिकार खुवाइएको थियो ।
प्रधानमन्त्री ओलीलाई खानामा सादा भात, रहरीको दाल, सुख्खा रोटी, हरियो साग, मिक्स तरकारी, पर्बल फ्राइ, गेडागुडीको अचार, कुखुराको मासु, खसीको मासु, माछा फ्राइ, पापड, दही, लालमोहन र रसभरी सहितको मिठाइ पस्किएको थियो । जनकपुरधाम उपमहानगरपालिका–४ कदमचोक उत्तिमपुर निवासी ४० वर्षीय विष्णुदेव मण्डलको नेतृत्वमा प्रधानमन्त्री ओलीका लागि खाना तयार पारिएको थियो ।
प्रदेशसभा परिसरभित्र रहेको सभामुखको सरकारी निवासमा गरिएको भोजभतेरमा सबै प्रदेशसभा सांसदले सहभागिता जनाएका थिए । प्रदेशसभा स्थापना भएपछि पहिलो पटक भोजभतेर गरिएको हो । ‘प्रधानमन्त्री ओलीजीको लागि खाना पकाउन पाएकोमा धेरै नै खुशी छु,’ खाना पकाउने टोलीका नेतृत्वकर्ता मण्डलले लोकान्तरसँग भने, ‘यो मेरो लागि गर्वको कुरा हो कि मैले प्रधानमन्त्री ओली ज्यूलाई खाना पकाएर खुवाउने अवसर प्राप्त गरेको छु ।’
उनी विगत २२ वर्षदेखि कूकको काम गरिरहेका छन् । तर, प्रधानमन्त्रीका लागि खाना पकाउन पहिलो पटक अवसर पाएको उनले बताए । २०४६ सालको आन्दोलनपछि जनकपुरमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला जनकपुर एउटा कार्यक्रममा आउँदा उनले चिया र बिस्कुट पस्किएको सम्झिए । महिला संघको कार्यक्रममा भाग लिन आएका तत्कालीन प्रधानमन्त्री कोइरालाले ‘चिया त मिठो बनाएछौं’ भनेर प्रशंसा गरेको मण्डल स्मरण गर्छन् ।
‘प्रधानमन्त्री ओलीका लागि के खाना पकाउने भनेर सोचिरहेको थिएँ, के कुरा खानुहुन्छ भन्ने आफूलाई थाहै थिएन । तर, प्रधानमन्त्री कार्यालयबाट सबै कुरा खानुहुन्छ भन्ने जानकारी प्रदेश सभामा आएको रहेछ,’ मण्डलले सुनाए, ‘प्रदेश सभाले नै प्रम ओलीको लागि खानेकुराको मेनु दियो, सोही अनुसार खाना तयार गरेँ ।’
प्रदेश सभाले प्रधानमन्त्री ओलीका लागि तयार पारेको खाना नै सबै सांसदका लागि तयार पारेको थियो । प्रधानमन्त्री आउने भएकाले प्रदेशका सबै सांसदका लागि पनि खाना तयार पारिएको थियो । बिहान ८ बजेदेखि १२ बजेसम्म ४ घण्टामा खाना तयार भएको थियो । करीब ४ सय जनाका लागि खाना पकाउन भनिएको थियो ।