
काठमाडौं– एघारौं राष्ट्रिय सूचना दिवस आइतबार विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । वि.सं. २०६५ साल भदौ ३ गते सूचनाको हकसम्बन्धी ऐन लागू भएपछि हरेक वर्ष विभिन्न कार्यक्रमका साथ राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो ।
नेपालमा सूचनाको हकसम्बन्धी संवैधानिक र कानुनी व्यवस्था भएपछि सार्वजनिक चासोको सूचना माग्ने र पाउने हकको कार्यान्वयन क्रमिकरूपमा वृद्धि भइरहेको छ । विगत ११ वर्षको अवधिमा सूचना प्राप्तिमा महत्वपूर्ण उपलब्धिहरू हासिल भएका छन् ।
एघारौं राष्ट्रिय सूचना दिवस आइतबार विभिन्न कार्यक्रमका साथ मनाइरहँदा सूचनाको हकसम्बन्धी व्यवस्था, यस अवधिमा हासिल भएका उपलब्धि र यसका चुनौतीका विषयमा विभिन्न दृष्टिकोणबाट बहस र छलफल पनि भइरहेका छन् ।
राष्ट्रिय सूचना आयोगका अनुसार विभिन्न विकृति, विसङ्गति रोक्न सूचना आयोग सफल भएको छ भने संघ प्रदेश र ७५३ वटै स्थानीय तह, अन्य संवैधानिक अङ्ग, सरकारी तथा गैरसरकारी निकायमा सूचना अधिकारी तोक्ने र सूचना प्रवाह गर्ने प्रचलनमा वृद्धि भएको छ ।