
काठमाडौं – अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलो हप्तौंपछि बल्ल नियन्त्रणमा आएको छ ।
फर्गुसन फायर नाम दिइएको डढेलोले १३ जुलाईदेखि हिजोसम्म लगभग ९७ हजार एकड जमीन डढाइदिएको थियो ।
आगो निभाउनका लागि तीन हजारभन्दा बढी अग्निनियन्त्रकहरू खटिएका छन् । तीमध्ये दुईजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
योसेमाइट राष्ट्रिय निकुञ्जलाई नै डढाउन लागेको डढेलो नियन्त्रणमा आएपछि धेरैजसो पर्यटन क्षेत्रहरू फेरि खोलिएका छन् ।
निकुञ्जमा धूवाँ फैलिरहेकाले ती क्षेत्र बन्द गरिएको थियो । त्यसले गर्दा पर्यटकीय सीजनमा स्थानीय अर्थतन्त्रमा क्षति पुगेको थियो ।
क्यालिफोर्नियामा विगत केही हप्तायता फैलिएका डढेलामध्ये फर्गुसन एक हो ।
मौसम चिसिँदै जाँदा अनि वायु मन्द हुँदै जाँदा अग्निनियन्त्रकलाई सहज भएको अधिकारीहरू बताउँछन् ।
‘मौसमले गर्दा आगो घटिरहेको छ र अग्निनियन्त्रकहरू आफूवरिपरिका क्षेत्रमा थप राम्रो कन्टेनमेन्ट लाइन बनाउन सफल भएका छन्,’ क्याल फायर प्रवक्ता लिनेट राउन्डले बताइन् ।
निकुञ्जको केन्द्रीय भाग तीन हप्ता बन्द गरिएपछि खोलिएको छ तर धूवाँ उठिरहेकाले केही प्रमुख मार्गहरू सप्ताहान्तमा बन्द नै रहे ।
बीबीसीबाट