०९ साउन २०८३, शनिबार

गाउँपालिकामा जनप्रतिनिधिको मनपरी, बुढीगंगामा अध्यक्षका आफन्तलाई जागिर

गाउँपालिकामा जनप्रतिनिधिको मनपरी, बुढीगंगामा अध्यक्षका आफन्तलाई जागिर

विराटनगर – मोरङको बुढीगंगा गाउँपालिकाका जनप्रतिनिधिको आफन्त र नातागोतालाई जागिर खुवाउने भर्ति केन्द्र बनेको छ ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित वडाध्यक्ष र सदस्यले समेत आफन्तलाई खोजीखोजी जागिरमा लगाउने गरेको पाइएको छ । विधि र प्रक्रियाबाट अघि बढ्नुपर्ने स्थानीय सरकार आफैं विधि र प्रक्रिया कुल्चिँदै आफन्तलाई जागिर खुवाउन उद्यत देखिएको र गाउँपालिकाका अध्यक्षले विधि नाघेको स्थानीयले आरोप लगाएका छन् ।

गाउँपालिकाका अध्यक्षले आफन्त भर्ना गरेको बारेमा गाउँपालिकाभित्रै जनप्रतिनिधिलाई मन परेको छैन । गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले छोरीलाई कार्यालयमा भर्ना गरेका छन् । उनका भतिजालाई पनि सोही कार्यालयमा जागिर खुवाएका छन् । दुवैलाई अध्यक्षले करार नियुक्ति दिएका छन् । 

अनावश्यक दरबन्दी सिर्जना गरी अध्यक्ष माझीले छोरी, छोरा, भाई, भतिजा तथा आफन्त नियुक्त गरेको गाउँपालिका जनप्रतिनिधिले बताएका छन् । कतिपय वडा सदस्यले बैठकमै नियुक्तिको कुरा उठाउन खोजेको भएपनि अध्यक्षले थामथुम पारेको बताइएको छ ।

अध्यक्ष बालचन्द माझीकी छोरी सुनिता माझीलाई गाउँपालिकाको अनमीमा नियुक्त गरिएको छ । भतिज शिवराम माझीलाई अहेवमा नियुक्त गरेर जागिर खुवाइएको छ । अमिन विद्यानन्द चौधरी पनि अध्यक्षका निकट पर्छन् । गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदारले बहिनी पवित्राकुमारी गच्छदारलाई स्वास्थ्य शाखाको अनमीमा जागिर नियुक्त गराएकी छन् ।

अध्यक्षले छोरीलाई कार्यालयमा जागिर खुवाएपछि उपाध्यक्षले अध्यक्षलाई दबाब दिएर बहिनीलाई जागिर लगाएकी हुन् । विवेक बाबु थन्दारलाई गाउँपालिकाको सवइन्जिनियरमा जागिर लगाइएको छ । उनलाई वडा सदस्य जोगनारायण थन्दारको दबाबमा नियुक्त गरिएको हो ।

भागबण्डाका आधारमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र पकडवाला वडा सदस्यले पनि आफन्तलाई जागिर खुवाएको गाउँपालिकाको तथ्यांकमा देखिन्छ । 

हरेक वडामा कार्यालय सहयोगी आफू अनुकूल

गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले आफ्ना कर्मचारी नियुक्ति गरेको अवस्थामा त्यसको प्रभाव गाउँपालिकाका हरेक वडासम्म पुगेको छ । सबै वडामा वडाध्यक्षले आफन्त वा नजिकका व्यक्तिलाई कार्यालय सहयोगीमा नियुक्त गरेका छन् भने कतिपय वडामा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले हस्तक्षेप गरेका छन् । 

जागिर खुवाइएका कर्मचारीमा १ अमिन, १ सवइन्जिनियर, २ अनमी, १ अहेब र कार्यालय सहयोगी २ जना गाउँपालिकामा भर्ना गरिएको छ । गाउँपालिकामा नयाँ नियुक्त गरिएका कर्मचारीमा कार्यालय सहयोगी गंगा विश्वास र सविता चौधरी पनि गाउँपालिका अध्यक्ष बालचन्दले नै राखेका हुन् । १ नम्बर वडामा युवराज पौडेलले आफू निकटका १ जनालाई जागिर खुवाएका छन् । २ नम्बरमा राजकुमार चौधरीलाई वडा अध्यक्ष रेवतीनारायण चौधरीले नियुक्त गरेका छन् भने स्वास्थ्य चौकीमा कार्यालय सहयोगी लक्ष्मी कार्कीलाई बालचन्द माझीको दबाबमा जागिर खुवाइएको छ ।

३ नम्बरमा वडाध्यक्ष तिलकनाथ मण्डल राजवंशीले आफन्त भर्ना गरेका छन् । ५ नम्बर वडामा रञ्जीता सरदारलाई राखिएको छ । त्यहाँ वडाध्यक्ष रमेश खनालको आफू निकटका कर्मचारी राखेका हुन् । ६ नम्बर वडाका वडाध्यक्ष दिलिप चौधरीले कार्यालयबाट सेवासुविधा लिएर सेवा अवकाश प्राप्त नगरलाल चौधरीलाई करारमा नियुक्त गरेका छन् ।

७ नम्बर वडामा पनि वडा अध्यक्ष मुरारीलाल विश्वास थारुले आफू नजिकका व्यक्तिलाई जागिर खुवाएको बुढीगंगा गाउँपालिकाका कार्यालयले जनाएको छ । ४ नम्बर वडाका अध्यक्ष काशिम मियाँले भने कुनै कर्मचारी राखेका छैनन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले करारमा राखिएका कर्मचारी नेपाल सरकारले व्यवस्था गरेको सेवा करार निर्देशिका अनुसार नरहेको बताएका छन् । ‘सेवा करार अनुसार कर्मचारी भर्ना गर्दा खुला प्रतिस्पर्धाका आधारमा हुनुपर्थ्यो, त्यस्तो देखिएको छैन,’ उनले भने, ‘तर पनि यसरी नियुक्त गरिएका व्यक्ति म सरुवा भएर आउनुभन्दा पहिला नै नियुक्त गरिएकाले यसबारेमा केही भन्न मिल्दैन ।’

यस्तो भन्छ स्थानीय सरकार सञ्चालन ऐन

नेपाल सरकारले जारी गरेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ११ प्रशासकीय कर्मचारी व्यवस्थापनको दफा (८३) को उपदफा ७ बमोजिम कार्यालय सहयोगीसहित घोडे, माली इन्जिनियर लगायतका प्राविधिक कर्मचारी गाउँपालिका तथा नगरपालिकाले खुला प्रतिस्पर्धाका आधारमा सेवा करारमा पदपूर्ति गर्न सकिने व्यवस्था गरिएको छ । तर, माथि करारमा राखिएका सबै कर्मचारी आफूखुशी भर्ना गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले गाउँपालिकामा केही कर्मचारी नियुक्त गरिएको र प्रक्रिया अनुसार नै गरिएको दावी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्