३१ असार २०८३, बुधबार

रोनाल्डो हिँडेपछि रियाल मड्रिडमा देखियो समस्या

रोनाल्डो हिँडेपछि रियाल मड्रिडमा देखियो समस्या

काठमाडौं – रियाल मड्रिडले ला लिगाको ताजा सीजन जीतका साथ शुरूआत गरेको भएपनि रोनाल्डोको अनुपस्थिति प्रस्ट देखिएको फूटबल पण्डितहरूले बताएका छन् । 

बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्देले यो सीजनमा पनि बार्साकै आधिपत्य हुने बताएका थिए र उनको कुरा सत्य साबित हुने लक्षण अहिल्यै देखापरेको छ । 

अघिल्लो सीजनमा बार्सिलोना दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडभन्दा १४ अंक बढी अनि रियाल मड्रिडभन्दा १७ अंक बढी अन्तरले शीर्ष स्थानमा रहेको थियो । 

एट्लेटिकोका प्रशिक्षक डीएगो सिमियोनले पनि यो सीजनका लागि राम्रा खेलाडी भित्र्याएर आफूहरू लिगा युद्धका लागि तयार रहेको बताइसकेका छन् । अझ यूईएफए सुपर कपमा रियाल मड्रिडलाई हराएर एट्लेटिकोले आफ्नो शक्ति प्रदर्शन गरिसकेको छ । 

रियालको कुरा गर्दा चाहिँ उससँग अझै पनि राम्रा खेलाडीहरू छन् तर रोनाल्डो जस्तो गोल मशिन छैन । 

रोनाल्डो युभेन्टस गएपछि उनको ठाउँमा खेल्ने खेलाडी रियालले भेटेको छैन । यो सीजनमा क्लबले गतिलो स्ट्राइकर पाउने छेकछन्द पनि छैन । 

नयाँ प्रशिक्षक युलेन लोपेतेगुईलाई रियाल मड्रिडको बोर्डले पनि सहयोग गरेको छैन । स्पेन राष्ट्रिय टोलीको प्रशिक्षक रहेका लोपेतेगुई विश्वकप शुरू हुने बेलामा रियालको प्रशिक्षक बन्न तयार भएपछि बर्खास्तीमा परेका थिए ।
रियालका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले रोनाल्डोले छोडेपछिको शून्यतालाई पुर्न खासै काम गरेका छैनन् । 

लोपेतेगुईले पूर्वप्रशिक्षक जिनेदिन जिदानको उत्तराधिकारीको गहन जिम्मेवारी उठाउने सहमति जनाउँदा अन्य चार प्रशिक्षकले यो पद अस्वीकार गरेका थिए । त्यसैले उनलाई चाहेको जस्तो खेलाडी दिलाएर क्लबले सहयोग गर्नुपर्ने
थियो । 

रियालले छिमेकी क्लब गेटाफेलाई आइतवार सम्पन्न खेलमा २–० ले हराएर सीजनको सुखद शुरूआत गरेको भएपनि उनीहरूको गृहमैदानमा दर्शक संख्या एकदमै कम रह्यो । 

यो दशककै सबभन्दा कम उपस्थितिका रूपमा सान्टियागो बेर्नाबेउमा जम्मा ४८ हजार ४६६ दर्शक आएका थिए । सन् २००९ मा रोनाल्डो युग शुरू हुनुअघिको संख्याबराबर हो यो । 

‘रोनाल्डोविना खेलै खल्लो भयो,’ मड्रिडका एक समर्थकले कुख्यात टीभी शो एल चिरिनगुइटलाई बताए । ‘हामीहरूले गोल गर्न सक्ने कुनै खेलाडी ल्याउनुपर्छ,’ अन्यले भने । 

आइतवारको खेलमा ग्यारेथ बेलले राम्रो प्रदर्शन गरेको भनी केहीले प्रशंसा गरे । बेलले डानी कार्भाहाललाई गोल गर्न सहायता गरेका थिए भने दोस्रो गोल आफैंले गरेका थिए ।

मड्रिडको खेलमा बेलको प्रदर्शन सम्झनलायक रहेपनि नजिकैबाट हेर्दा क्लबका सम्बन्धमा केही शंका अझै छन् । 

बेलको क्रसलाई गेटाफेका गोलकीपर डेभिड सोरियाले हुत्याएपनि कार्भाहालको गोडामा पारे र गोल खाए । अनि दोस्रो गोलमा पनि बेलले प्रहार गरेको बललाई उनले रोक्न नसक्ने हैन तर बल उनको हातमा लागेर नेट चुम्न पुगेको
थियो । 

अन्य विपक्षीले यस्ता अवसरलाई गोलमा परिणत हुन दिने सम्भावना नहुन सक्छ । 

हिजोको खेलमा त बेलले ताली पाए तर रियालको खेल बिग्रेमा उनले गाली पाउने अवश्यम्भावी छ । रोनाल्डो आफैंले पनि कहिलेकाहीँ आलोचना बेहोर्नुपरेको थियो । 

क्लबका अर्का राम्रा खेलाडी लुका मोड्रिच पनि रियाल मड्रिड छोडेर इन्टर मिलान जान चाहन्छन् । यी दुई क्लब क्रोएसियाली मोड्रिचका लागि झगडा गरिरहेका छन् । 

रोनाल्डो गुमाइसकेको क्लबले विश्वकपका सर्वोत्कृष्ट खेलाडी मोड्रिच पनि गुमाएमा निकै समस्या पर्न सक्छ । 

बेल घाइते भएमा र बेन्जेमाले अघिल्लो सीजनमा जस्तै सामान्य प्रदर्शन गरेमा के हुन्छ ?

लोपेतेगुईलाई क्लबमा आफ्नो विचारधारा लागू गर्न समय लाग्छ तर मड्रिडले अट्याकलाई बलियो बनाएन भने उनी आलोचनाको तारो बन्नेछन् । 

मिररमा प्रकाशित रिक शर्माको विश्लेषण
 

salt training

कमेन्ट गर्नुहोस्