३२ असार २०८३, बिहीबार

गण्डकी प्रदेशले पनि शुरु गर्यो ‘हेल्लो मुख्यमन्त्री’ सेवा

गण्डकी प्रदेशले पनि शुरु गर्यो ‘हेल्लो मुख्यमन्त्री’ सेवा
सा‌ंकेतिक तस्बिर

पोखरा– गण्डकी प्रदेश सरकारले सोमबारदेखि ‘हेल्लो मुख्यमन्त्री’ टेलिफोन सेवा प्रारम्भ गरेको छ । 

सेवा शुरु भएसँगै टेलिफोन नं १०९४ मा फोन गरेर सर्वसाधारणले समस्या एवं गुनासो मुख्यमन्त्रीसमक्ष पुर्‍याउन सक्नेछन् । 

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा सर्वसाधारणको गुनासोको सुनुवाइ र सम्बोधनका लागि ‘हेल्लो मुख्यमन्त्री’ विद्युतीय प्रणालीलाई स्थानीय तहसम्म विस्तार गरिने छ । 

प्रदेश सरकारका काम कारवाहीका साथै सुझाव, प्रतिक्रिया, गुनासो सम्बोधनका लागि हेल्लो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । सेवाको प्रभावकारिता र सुशासनका लागि यो कार्यक्रम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै उनले यसले जनता र नेताबीचको सम्बन्ध अझै नजिक र प्रगाढ बनाउने बताए । 

मुख्यमन्त्री गुरुङले विकास निर्माण लगायत सरकारले तय गर्ने योजनाका लागि सर्वसाधारणका सुझाव महत्वपूर्ण हुनेमा जोड दिँदै प्राकृतिक विपद् लगायतका समस्याको जानकारीका लागि पनि यो सेवा बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे । 

सेवा शुभारम्भ कार्यक्रममा साेमवार मुख्यमन्त्री गुरुङले फोनमार्फत दुई जना सर्वसाधारणको गुनासोको जवाफ दिएका थिए । मुख्यमन्त्री गुरुङसँग पोखरा सिमपानीका कृष्ण पौडेल र नदीपुरका उपेन्द्र पौडेलले पर्यटन विकास, पर्यटकको सुरक्षा तथा बसाइ लम्ब्याउनुपर्ने जिज्ञासा राखेका थिए । 

जवाफमा मुख्यमन्त्री गुरुङले पर्यटनलाई प्रदेशले पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै दीर्घकालीन योजनाका साथ सरकार अघि बढ्ने बताए । उक्त नम्बरमा फोन गरी सर्वसाधारणले आफ्नो सुझाव तथा समस्या टिपाउनाका साथै मौखिकरूपमा उजुरी दिन सक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

कार्यालयका सचिव लालमणि ओझाले तत्कालका लागि कार्यालय समय १० देखि साँझ ५ बजेसम्म सेवा सञ्चालन हुने जानकारी दिए । नागरिकको गुनासो सुनुवाइका लागि दुई जना कर्मचारी खटिनेछन् भने अन्य समयमा आएको उजुरी सिधै रेकर्ड गराउन सक्ने व्यवस्था गरिएको बताइएको छ । 

यस्तै, hello.gandaki.gov.np र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको इमेल [email protected] मा इमेल गरेर पनि गुनासो टिपाउन सकिने व्यवस्था गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्