गोरखा, ९ फागुन – बहुचर्चित बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा आलटाल भइरहेको छ । गत मंसिरमा जिल्ला प्रशासन कार्यालयले मुआब्जाका लागि आवेदन माग गरे पनि अहिलेसम्म मुआब्जा वितरण भएको छैन । मुआब्जा वितरणका लागि यस वर्ष सरकारले पाँच अर्ब रुपैयाँ निकासा गरेको थियो । मुआब्जा वितरण नहुँदा आयोजनाको बाँकी कामसमेत अघि बढ्न सकेको छैन । आजको अन्नपूर्ण पोष्टमा खबर छापिएको छ ।
मुआब्जा निर्धारण समितिले पहिलो चरणमा घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका डुबानमा पर्ने जग्गाको मुआब्जा निर्धारण गरेको थियो । मुआब्जा निर्धारण गरेर रकम लिन आउन आवेदन माग गरे पनि समितिले काम सुरु नगरेको हो । आन्तरिक काम बाँकी रहेकाले मुआब्जा वितरणमा ढिलाइ भएको गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्वीकार गरे ।
‘वितरणको अन्तीम तयारीमा छौं’, मुआब्जा समितिका संयोजक प्रजिअ बस्नेतले भने, ‘केही आन्तरिक काम बाँकी भएर समय लागेको हो ।’ उनले डुबानमा पर्ने र नपर्ने कित्ताकाटको काम बाँकी रहेको बताए । ‘एउटै कित्ता जग्गा पनि केही डुबान र केही बाहिर छ । त्यो छुट्टयाउन बाँकी छ । अनि सडकले चर्चेको जग्गा पनि छुट्टयाउनु पर्नेछ’, उनले भने, ‘साँझ बिहान गरेर काम गर्दै हुनुहुन्छ । त्यसैले ढिला भएको हो ।’ अहिलेसम्म करिब एक सय जनाको छुट्टयाइसकेको उनले बताए । यही हप्ताभित्रबाट मुआब्जा बाँड्ने तयारी गरिएको उनले बताए ।