०६ साउन २०८३, बुधबार

वीरेन्द्रनगर नगरपालिकाद्वारा पहिलो पटक बजार अनुगमन

भदौ ६, २०७५
वीरेन्द्रनगर नगरपालिकाद्वारा पहिलो पटक बजार अनुगमन

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगको बजार अनुगमन शुरूवात गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका बजार अनुगमन तथा व्यवस्थापन कार्यविधि २०७४ बमोजिम पहिलो पटक बुधवारदेखि अनुगमन कार्य शुरू भएको हो । नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलको नेतृत्वमा गएको टोलीले ९ वटा विभिन्न पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा व्यापारीले म्याद नाघेका सामान राखेको पाइएको छ भने नास्ता पसलमा विभिन्न परिकार खुला राखेर बेच्ने गरिएको पाइएको थियो । व्यापारीले खुद्रा खाद्यान्न तथा मदिरा एकै पसलमा राखेर बेच्ने गरेको पाइएको छ ।
वरिष्ठ अधिकृत पौडेलले व्यापारीले एकै पसलभित्र मदिरा र खाद्यान्न वितरण गर्न नपाइने बताए ।

‘यसरी एकै ठाउँमा मदिरा र खाद्यान्न राखेर बिक्री वितरण गर्न पाइँदैन,’ उनले भने, ‘हामीले अहिले उहाँहरूलाई सुझाव दिएका छौं, उहाँहरूले अलग–अलग नपारे कार्यविधि अनुरुप कारवाही प्रक्रिया अगाडि बढाउने छौं ।’ उनले नगरपालिका उपभोक्ताको स्वच्छ र उपयुक्त मूल्यमा खाद्यान्न तथा अन्य वस्तु पाउने हकको उच्च सम्मान गर्दै अनुगमनमा आएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्माले उपभोक्ताको हित विपरीत कसैले पनि काम गर्न नहुने बताए । ‘उपभोक्ताको स्वास्थ्यमाथि कसैले पनि खेलवाड गर्न पाइँदैन,’ उनले भने, ‘त्यस्तो भएको पाइएमा व्यापारी कारवाहीको भागिदार हुन्छ र राज्यले कारवाही गरिछाड्छ ।’

खाद्य निरीक्षक भेषबहादुर थापाले उपभोग्य वस्तुको उपभोग्य मिति, गुणस्तर ध्यान दिएर मात्रै उपभोक्ताले प्रयोग गर्नुपर्ने धारणा राखे । ‘उपभोक्ताले पनि उपभोग्य वस्तुको मिति, गुणस्तरजस्ता कुरामा ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘कसैले बेइमानी गरेको खण्डमा सम्बन्धित निकायमा खबर गर्न आग्रह गर्दछु ।’

अनुगमन टोलीले मंगलगढी, हटियालाइन र बांगे शिमलमा अनुगमन गरेको हो । वरिष्ठ अधिकृत पौडेलले अब कार्यविधि आइसकेकाले अनुगमन नियमित हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्