
काठमाडौं— नेपाली कांग्रेसले मुलुकको नयाँ संघीय संरचना अनुसार पार्टीका संगठनात्मक संरचनाहरुलाई पुर्नसंरचना गर्नका लागि महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टीको विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।
कांग्रेस केन्द्रीय कार्य समितिको २०७५ वैशाख १६ गते सम्पन्न बैठकले गरेको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा २२ (५) बमोजिम पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेका हुन् ।
समितिमा डा मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय ‘डिना आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, सिता गुरुङ, प्रदिप पौडेल र रमेश लेखक छन् ।
समितिले पार्टी सभापतिसंग परामर्श गरी आफ्नो कार्याविधि आफै तयार गरी लागु गर्नेछ । समितिका संयोजकले आवश्यकतानुसार विभिन्न व्यक्ति तथा संस्थाहरुलाई आफ्नो समितिमा आमन्त्रण गर्न सक्ने कांग्रेस पार्टी कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।