
कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरमा लगाएको कर्फ्यू बिहान ५ बजेदेखि हटेको छ । कर्फ्यू हटेसँगै जनजीवन सामान्य बन्दै गएको छ ।
भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै गरिएको प्रदर्शनले उग्र रुप लिएपछि बिहीबार बेलुका ५ बजेदेखि १२ घण्टाका लागि कर्फ्यू लगाइएको थियो । विरोध प्रदर्शनका कारण भीमदत्तनगर बिहीबार दिनभर अशान्त बन्यो ।
ट्राफिक चोकमा प्रहरी र आन्दोलनकारी बीचको दोहोरो झडपमा परी दुवैतर्फ घाइते भए । प्रहरीतर्फ नौ जना घाइते भएका छन् भने आन्दोलनकारीतर्फ छ जना घाइते भएका छन् ।
घटनाको तीन सातापछि प्रहरीले आइतबार भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई हत्याका अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । मानसिक अवस्था कमजोर भएका विष्टलाई हत्यारा भनी सार्वजनिक गरेपछि आन्दोलन झन चर्किएको हो ।