![उत्कर्षमा पुगेर घट्न थाल्यो बिदेसिने नेपाली कामदारको संख्या ! [तथ्याङ्कसहित]](https://lktcdn2.prixacdn.net/media/Baideshik_hgwEfEtz1M.jpg)
काठमाडौं – रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घट्दो क्रममा रहेको पाइएको छ । आर्थिक वर्ष २०७०/०७१ तथा २०७१/०७२ मा उत्कर्षमा पुगेको संख्या त्यसपछिका वर्षहरूमा क्रमश: घटिरहेको छ ।
आव २०७०/०७१ र २०७१/०७२ मा समान ५ लाख २७ हजार ८१४ जना बिदेसिएकोमा आव २०७४/०७५ मा आइपुग्दा त्यो संख्या ३ लाख १२ हजार ७४९ मा झरेको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार हालसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५० लाख नाघिसकेको छ । जसमा ४८ लाख ६९ हजार ४ सय ४५ जना पुरुष कामदार छन् भने महिला कामदारको संख्या १ लाख ९९ सय ९ सय ५१ रहेको छ ।
आर्थिक वर्ष २०७३/७४ मा श्रम स्वीकृती लिएर बिदेसिने पुरुषको संख्या ३ लाख ४५ हजार ६१ रहेको थियो भने १८ हजार १२ जना महिला श्रमिक रोजगारीका लागि बिदेसिएका थिए ।
यस्तै आर्थिक वर्ष २०७४/७५ मा २ लाख ९३ हजार २ सय ६३ रहेको छ भने महिला कामदारको संख्या १९ हजार ४ सय ८६ रहेको छ ।
आर्थिक वर्ष २०६३/६४ मा श्रमका लागि बिदेसिने पुरुषको संख्या २ लाख ४ हजार एक सय ४३ रहेको थियो भने महिलाको संख्या ३ सय ९० मात्रै थियो ।
यी दुई वर्षमा सबैभन्दा बढी
१२ वर्षको अविधिलाई हेर्दा आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा सबैभन्दा धेरै कामदार बिदेसिएका छन् ।
आर्थिक वर्ष २०७/७१ मा ४ लाख ९८ हजार ४ सय ४६ पुरुष र २९ हजार, ३ सय ६८ जना महिला श्रमिक बिदेसिएका थिए ।
यस्तै आर्थिक वर्ष २०७१/७२ मा बिदेसिने पुरुषको संख्या ४ लाख ९८ हजार ८ सय ४८ थियो भने २८ हजार ९ सय ६६ जना महिला रहेका छन् । १२ वर्षको अवधिमा २०७०/७१ मा सबैभन्दा बढी महिला कामदार विदेशिए भने सबैभन्दा बढी पुरुषहरू २०७१/७२ मा श्रमका लागि बिदेसिएका थिए ।
सरकारले श्रम स्वीकृति लिएर बिदेसिने नेपालीको तथ्यांक राख्ने गरेको भएपनि शिक्षा, व्यापार विवाह लगायतका कारणले विदेश जाने र भारतमा रोजगारीका लागि जाने नेपालीहरूको भने आधिकारीक तथ्यांक छैन ।
२०६८ को जनगणनाका अनुसार भारतमा रहेका नेपालीहरूको संख्या ५ लाख ८९ हजार ५० रहेको छ । जसमा ८८.३ प्रतिशत पुरुष र ११.७ प्रशित महिला रहेका छन् ।
यस्तो छ हालसम्मको तथ्यांक
७४ प्रतिशत कामदार अदक्ष !
नेपालले हालसम्म १ सय १० मुलुकलाई संस्थागतरूपमा वैदेशिक रोजगारका लागि खुला गरेको छ ।
यस्तै व्यक्तिगत श्रम स्वीकृतिमा करीब १ सय ७२ मुलुकमा नेपालीहरू कामका बिदेसिने गरेका छन् । श्रमका लागि जाने नेपालीको मुख्य गन्तव्य मलेसिया, कतार, साउदी अरेबिया र यूएई हो ।
वैदेशिक रोजगारमा जाने नेपालीहरूको पछिल्लो आंकडा समग्रमा अध्ययन गर्दा मलेसिया र खाडी मुलुकहरूले ८६.४२ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा जाने ७४ प्रतिशत कामदार अदक्ष रहेको सरकारी तथ्यांक छ । वैदेशिक रोजगारीमा गएका मध्ये १.५ प्रतिशत दक्ष, २४ प्रतिशत अर्धदक्ष र ७४.५ प्रतिशत अदक्ष कामदार रहेका छन् ।
आधा कामदार १ र २ प्रदेशका मात्र
सरकारी तथ्यांकअनुसार वैदेशिक रोजगारीका लागि बिदेसिने कामदार प्रदेश नम्बर १ र २ का बढी छन् । श्रमका लागि बिदेसिने ५० प्रतिशन श्रमिक प्रदेश नं १ र २ रहेका छन् ।
यस्तै प्रदेश नं. ३ र ५ मा १६/१६, प्रदेश नं. ४ मा १३, प्रदेश ६ मा ३ प्रतिशत र प्रदेश ७ मा २ प्रतिशत रहेको छ ।
विदेशबाट फर्किने श्रमिकको तथ्यांक नै छैन
सरकारले श्रम स्वीकृति लिएर बिदेसिने नेपालीको तथ्यांक राख्ने गरेको भए पनि श्रम गरेर कति नेपाली फर्किए भन्ने कुनै तथ्यांक छैन ।
श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारबाट फर्केका नेपालीको तथ्यांक राख्न यसै वर्षबाट शुरू गरिने बताएका छन् ।